एलवाईसीको मनायो १५ औं वार्षिक उत्सव

Posted on: 15 Sep, 2016

प्रकाश धौलाकोटी । भदौ ३०, तेह्रथुम । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड तेह्रथुम शाखाले बुधबार आफ्नो १५ औं वार्षिक उत्सव मनाएको छ । उत्सवका अवसरमा शाखाले दुई जना बीमा अभिकर्तालाई बीमा श्री उपाधिले सम्मान गरेको छ । 

शाखा प्रबन्धक सञ्जिव ढुंगानाले उत्कृष्ट बीमा अभिकर्ता जयप्रसाद उप्रेती र लिलादेवी न्यौपानेलाई बीमा श्री पदकले सम्मान गरेको हो । उत्सवको अवसरमा बीमा अभिकर्ता जयप्रसाद उप्रेती, एसबीआई बैंक तेह्रथुम शाखा प्रबन्धक विनोद कपुरी र दि ओरेन्टियल इन्स्योरेन्स कम्पनी तेह्रथुम शाखा प्रबन्धक अर्जुन ढुंगानाले शुभकामना मन्तव्य राख्नुभयो । कार्यक्रममा जिल्लाका बैंक तथा वित्तीय संस्थाका प्रमुख, बीमा अभिकर्ता र ग्राहकहरु सहभागी थिए । 

एलआईसी अफ ईण्डिया र विशाल गु्रपको संयुक्त लगानीमा सञ्चालित कम्पनीका हाल देशभर ३५ वटा शाखाहरु रहेका छन् । एलवाईसीले सावधिक योजना, धनफिर्ता योजना, बाल योजनाहरु, जीवन आनन्द, गृहलक्ष्मी, बीमा किरण, जीवन तरङ्ग, जीवन आस्था, बाल सावधिक योजना, जीवन अमूल्य, जीवन सरल र जीवन विद्या बीमा योजना ल्याएको छ । 

एलवाईसीले प्रति हजार प्रति वर्ष ७५ रुपैयाँ बोनस दिँदै आएको छ । बैंकमा बचत गर्नुभन्दा बीमा कम्पनीमा बचत गर्दा दोहोरो लाभ लिन हुने शाखा प्रबन्धक ढुंगानाले बताउनुभयो । बीमा कम्पनीमा बचत गर्दा अधिकतम बोनस ७५ प्रति हजार प्रति वर्ष अर्थात् ७.५ प्रतिशत वार्षिक प्रतिफल प्राप्त हुन्छ, र त्यसको साथमा जीवन बीमा पनि हुने उहाँले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!