नेविसङ्घमा ३२ वर्षे उमेर हद लगाउन माग

Posted on: 07 Oct, 2018

असोज २१, काठमाडौँ | नेपाल विद्यार्थी सङ्घले आगामी निर्वाचनमा ३२ वर्षको उमेर हद लगाउन माग गरेको छ । नेवि सङ्घले आज पार्टी केन्द्रीय कार्यालयमा पार्टीका सभापति शेरबहादुर देउवालगायत पदाधिकारी तथा सदस्यलाई भेटेर नेवि सङ्घको १२औँ महाधिवेशनको सुनिश्चितता गर्दै ३२ वर्षे उमेर हद कायम गर्न मागसहितको ज्ञापनपत्र बुझाएको हो । 

नेवि सङ्घका महामन्त्री आनन्दराज त्रिपाठीको नेतृत्वमा पार्टी केन्द्रीय कार्यालय पुगेको सङ्घको टोलीले सभापति देउवालगायत नेताहरुलाई भेटेर ११आँै महाधिवेशनमा लगाइएको उमेर हद लगाउन माग गरेको प्रवक्ता प्रेमराज जोशीले जानकारी दिनुभयो । 

सङ्घको विधान २०२७ को छैठौ संशोशन २०७३ भाग २ को धारा ५(घ) ले नेवि सङ्घको सदस्यतामै नेतृत्वको उमेर समूह (३२ वर्ष) निर्धारण गर्नुपर्ने व्यवस्था गरेको थियो । सो अवसरमा सभापति देउवाले सङ्घको विधानबारे पार्टी केन्द्रीय समितिमा छलफल गरेर अन्तिम निष्कर्ष निकाल्ने बताउनुभयो । नेवि सङ्घको दुई वर्षे कार्यकाल भदौ २ गते सकिएर तीन महीनाका लागि थपिएको छ । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!