लोकसेवाको विज्ञापन विरुद्धको रिटको सुनुवाइ फेरी सर्‍यो

Posted on: 26 Jun, 2019

असार ११, काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका लागि गरेको विज्ञापन विरुद्धमा सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ असार १५ गते हुने भएको छ ।

 रिट खारेजीको निर्देशन जारी गर्ने राज्य व्यवस्था समितिमा सुनुवाइको सूचना नपुगको भन्दै आगामी आइतबारसम्मको लागि सुनुवाइ सारिएको हो।

न्यायाधीशहरु हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको इजलासले बुधबार अन्तरिम आदेशको छलफलका लागि संसदको राज्य व्यवस्था समितिलाई सूचना दिन आदेश दिएको छ । सर्वोच्चले लोकसेवा आयोगको विज्ञापन विवादमा परेको ४ वटा रीटलाई एकै इजलासमा राखेर सुनुवाई गरिरहेको छ । एउटा रीटमा राज्य व्यवस्था समितिलाई विपक्षी बनाइएको छ । तर अन्तरिम आदेशको छलफलका लागि समितिका प्रतिनिधि अनिवार्य उपस्थित हुनुपर्नेमा सूचना नै नपुगेकाले बुधबार सूचना दिन आदेश भएको सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए ।

चार रिटमाथिको सुनावाइ योसँगै चौथोपटक सरेको हो। आइतबार दिनभर बहस भए पनि रिट निवेदककै तर्फको बहस नसकिएकाले हेर्दाहेर्दैमा राखिएको थियो। आयोगको विज्ञापनमा भने हिजोसम्म ३ लाख ६७ हजारको आवेदन परेको छ। दोब्बर दस्तुर तिरेर असार १७ गतेसम्म आवेदन दिन सकिनेछ। आयोगले स्थानीय तहका लागि गत जेठ १५ गते ९ हजार १ सय ६१ को संख्यामा भर्ना आह्वान गरेको थियो। 




यस बिषयमा तपाइको प्रतिक्रिया...!