बैतडीका सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव

Posted on: 05 Nov, 2019

कार्तिक १९, बैतडी | दशरथचन्द नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव भएको छ। वडा नम्बर  १० स्थित ज्ञानेश्वर आधारभूत विद्यालय र शान्ति आधारभूत विद्यालयमा विद्यार्थीको सङ्ख्या शून्य भएकाले  ती विद्यालयका शिक्षकलाई अर्को विद्यालयमा काज सरुवा गरिनाका साथै विद्यालय पनि बन्द गरिएको छ। 

वडा नम्बर ६ को नगतडीस्थित जगन्नाथ आधारभूत विद्यालयमा पनि आठ विद्यार्थी मात्रै भर्ना भएका छन्। कक्षा ५ सम्म पढाइ हुने उक्त विद्यालयमा तीन शिक्षक कार्यरत छन्। सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर खस्कदै गएकाले यसमा विद्यार्थीको आकर्षण घट्दै गएको शिक्षा क्षेत्रका जानकार बताउँछन्। वडा नम्बर ८ स्थित त्रिपुरा आधारभूत विद्यालयमा १७ विद्यार्थी अध्ययनरत रहेकामा तीन  शिक्षक कार्यरत छन्। वडा नम्बर ६ स्थित ईश्वर आधारभूत विद्यालयमा १८  विद्यार्थीका लागि १२ शिक्षक कार्यरत छन् भने मण्डलास्थित जगन्नाथ आधारभूत विद्यालयमा २९ विद्यार्थीका लागि चार  शिक्षक कार्यरत छन्। 

उक्त नगरपालिकामा १० भन्दा बढी आधारभूत विद्यालयले विद्यार्थीको अभाव जेल्दै आएको नगरपालिकाका शिक्षा संयोजक मोहन नाथले बताए। सदरमुकामका कम विद्यार्थी भएका विद्यार्थीलाई नगरपालिकाले समायोजन गर्ने तयारी गरे पनि कानूनी जटिलताले गर्न सकिने अवस्था नरहेको उनको भनाइ थियो। 

जिल्ला शिक्षा समितिले पनि विद्यालय समायोजनको नीति बनाउन सकेको छैन्। सङ्घीय शिक्षा ऐन नै नआएका कारण अहिले नै समायोजनका विषयमा केही गर्न नसकिने शिक्षा विकास तथा समन्वय एकाइका सूचना अधिकारी पुष्करराज शर्माले बताए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!