एसईई नतिजा एक हप्तामा प्रकाशन हुने

Posted on: 29 Jul, 2020

साउन १४, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । आगामी एक हप्ताभित्र नतिजा सार्वजनिक गर्ने तयारी भईरहेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।

नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण यस पटकको एसईई परीक्षा नभएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गर्न लागिएको हो । हाल विद्यालयहरूले जिल्ला समन्वय इकाइ मार्फत बोर्डमा पठाएको अंक रुजु भइरहेको सदस्य सचिव अर्यालले बताए । विद्यार्थीहरूको मूल्यांकन प्रधानाध्यापक अध्यक्ष र सम्बन्धित कक्षा शिक्षक तथा सम्बन्धित माध्यमिक तहका शिक्षकहरूमध्ये नियुक्तिका आधारमा सबैभन्दा जेष्ठ शिक्षक प्रतिनिधि सदस्य रहेको मूल्यांकन समितिले गरेको थियो ।

गत जेठ २८ गते सरकारले (एसईई) परीक्षा नगर्ने र विद्यालयद्वारा गरिएको आन्तरिक मूल्याङ्कनलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी गर्ने गरी निर्णय गरेको थियो ।

शैक्षिक सत्र २०७६ को परीक्षा साविकबमोजिम २०७६ चैत्र ६ गतेदेखि सञ्चालन हुने गरी कार्यतालिका प्रकाशन गरी सबै तयारी पूरा भइसकेको थियो तर कोरोना सङ्क्रमणको अवस्थालाई दृष्टिगत गरी कोरोना सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको गत चैत ५ गतेको निर्णयानुसार एसइई स्थागित भएको थियो । यो वर्ष देशभरी ४ लाख ८२ हजार २१९ विद्यार्थीले एसईईको तयारी गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!