श्रम सम्झौताका लागि यूएईले राख्यो नेपाललाई यस्तो औपचारिक प्रस्ताव

Posted on: 11 Nov, 2017

कात्तिक २५, काठमाडौँ | वैदेशिक रोजगारीका लागि आकर्षक श्रम गन्तव्य मुलुक यूएईले द्विपक्षीय श्रम सम्झौताका लागि नेपाललाई औपचारिक रूपमा प्रस्ताव पठाएको छ । श्रम तथा रोजगार मन्त्रालयले पछिल्लो पटक घरेलु कामदारका लागि सम्झौता गर्न प्रस्ताव गरेको थियो । तर यूएईले एककदम अघि बढेर श्रम सम्झौताका लागि छलफल गर्न आग्रह गर्दै मस्यौदा पठाएको छ । नेपालले केही साताअघि मात्र जोर्डनसँग श्रम सम्झौता गरेको छ ।


मन्त्रालयले यूएईको प्रस्तावलाई ‘प्रोग्रेसिभ’ भनेको छ । यसका आधारमा छलफल गर्दा छिट्टै यूएईसँग सम्झौता गर्न सकिनेमा अधिकारीहरू बताउँछन् । प्रस्तावित मस्यौदामा कामदारको तलब, सुविधा, बिमालगायत कामदारसँग रोजगारदाताले गर्ने सम्झौतामा आधारमा दिलाउने उल्लेख छ । सोही सम्झौतालाई सरकारले आधिकारिक मान्ने र रोजगारदाताले त्यसको पालना नगरे सरकारले जिम्मेवारी लिने उल्लेख छ । साथै समस्यामा परेका कामदारलाई रोजगारदाता परिवर्तन गर्न अनुमति दिन यूएई तयार भएको छ ।


यूएई नेपाली कामदार धेरै जाने मुलुकको सूचीमा तेस्रो नम्बरमा छ । यो आर्थिक वर्षको पहिलो ३ महिनामा १४ हजार नेपाली त्यहाँ पुगेका छन् । तर, त्यहाँ कार्यरत नेपालीको संख्या भने यकिन छैन । यूएई नेपाली कामदारको लागि औसत कमाइ हुने देशका रूपमा पनि चिनिन्छ । २४ घण्टे बिमा सुविधा पनि कामदारसँग हुने सम्झौतामा उल्लेख गर्ने गरी अघि बढ्ने मन्त्रालयले बताएको छ । मलेसियासहित अन्य खाडी मुलुकले कार्यस्थल बिमा उपलब्ध गराउन आनाकानी गरिरहेका छन् । - राजधानी दैनिकबाट 

यस बिषयमा तपाइको प्रतिक्रिया...!