के अब कोरियामा नेपाली कामदारका परिवार पनि जान पाउलान् ?

Posted on: 08 Apr, 2018

चैत २५, काठमाडौं । के अब कोरियामा नेपाली कामदारका परिवार भेट्न जान पाउलान् ? नेपालमा श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले कोरियन राजदूत पार्क योंग सिकलाई कामदारको सम्झौता अवधिभित्र कोरियामै आफ्ना परिवारका सदस्यलाई भेट्ने अवसर मिलाइदिन प्रस्ताव गरेपछी यो सम्भावना देखिएको छ ।

कोरियामा रहेका नेपाली कामदारसँग उनका परिवारले लामो समयसम्म भेट्न नपाउँदा डिप्रेसनको सिकार हुने, आत्महत्या सम्मको घटना हुन नदिन परिवारलाईनै कोरिया पुगेर भेट्नेसम्मको व्यवस्था मिलाउन श्रममन्त्रीले प्रस्ताव गरेको बुझिएको छ । यस विषयलाई  समेट्दै अब उतै भेट्न जानेसम्मको अवसर मिलाउन कोरिया राजदुतलाई मन्त्री विष्टले आग्रह गरेका हुन् । मन्त्री विष्टको प्रस्तावलाई कोरियन राजदूतले सकारत्मक रुपमा लिएका र आफ्नो सरकारसँग उक्त प्रस्तावको लागि पहल गर्ने बताइएको छ ।

कोरिया जानेहरुले आफ्नो करार अवधि ४ वर्ष १० महिनाको बीचमा आफ्ना परिवारलाई भेट्न पाईरहेका छैनन् । कोरिया सरकार यस प्रस्तावमा सकारात्मक भए अब उक्त अवधिमा कोरियामा रहेका कामदारको परिवारले कम्तिमा एकपटक त्यहाँ पुग्न सक्ने र कामदारको अवस्था बुझ्न सक्ने बताइएको छ । 

त्यस्तै मन्त्री विष्टले कोरिया राजदुतसँगको भेटमा कोरियाले अहिले दिइरहेको कामदारको कोटा पनि थप्न भन्दै आग्रह गरेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!