बैदेशिक रोजगार व्यवसायी र प्रधानमन्त्री विच भेटवार्ता, धरौटीको विषयमा केन्द्रित

Posted on: 03 Aug, 2018

साउन १८ काठमाडौँ । बैदेशिक रोजगार व्यवसायी र प्रधानमन्त्री केपी शर्मा ओली विच भेटवार्ता भएको छ । बैदेशिक रोजगार क्षेत्रका देखिएका समस्या समाधानका लागि पहल स्वरूप आज नेपाल बैदेशिक रोजगार व्यवसायी सघको अगुवाइमा म्यानपावर व्यवसायी र प्रधानमन्त्री विच छलफल भएको हो ।

छलफलमा म्यानपावर व्यवसायीले सरकारले एकतर्फी धरौटी रकम बढाएर ६ करोड पुर्याउन लागेको विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका संघका महासचिव नरेश गेलानले जानकारी दिए । धरौटी बढाएर मात्र समस्या समाधान नहुने बरु बैदेशिक रोजगार ऐन २०६४ मा देखिएका समस्यालाई समाधान गर्न ऐन संसोधन गर्नुपर्नेमा जोड दिइएको उनले बताए ।  

छलफलमा व्यवसायीले लिन पाउने सेवा शुल्क, इम्प्लोइमेन्ट करारको आधारमा अन्तिम श्रम स्वीकृति लिन पाउने व्यवस्था गर्न र दुई देश विच समान तलब तोकिनुपर्ने विषय व्यवसायीका तर्फबाट माग गरिएको गेलानले बताए।

श्रम मन्त्रालय र व्यवसायी संघ विच समन्वय गरेर धरौटीको विषय टुंग्याउनु पर्नेमा प्रधानमन्त्रीले छलफलमा जोड दिएको महासचिव गेलानले जानकारी दिए । 

यस अघि म्यानपावर व्यवसायीले धरौटी रकम बढाउने पस्ताव तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरेका थिए । बुधबार काठमाडौंमा भएको म्यानपावर व्यवसायीको वृहत भेलाले प्रस्ताव धरौटी बढाउने पस्ताव फिर्ता नलिए म्यानपावरको इजाजतपत्र (लाइसेन्स) सरकारलाई नै बुझाउने निर्णय सहित संकल्प पस्ताव पारित गरेका थिए। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!