नेपाल र युएई बीच द्विपक्षीय श्रम सम्झौता गर्न दुई देश सहमत

Posted on: 26 Sep, 2018

असोज १०, काठमाडौँ । नेपाल र युएई बीच निकट भविष्यमा नै प्राविधिक टोली गठन गरी द्विपक्षीय श्रम सम्झौता गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाउने विषयमा सहमति भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टसँग नेपालका लागि युएईका राजदुत सइद हम्दान अल नाक्बी बीच  भएको शिष्टाचार भेटमा द्धिपक्षीय सहमति भएको श्रम मन्त्रालयले जनाएको हो । 

दुई देश बीच विगतमा भएको श्रम सम्झौतालाई दुवै मुलुकले अधिकतम लाभ लिनसक्ने गरी परिमार्जन गर्नका लागि दुवै पक्षबाट आवश्यक तयारी शुरु भएको हो । उक्त भेटमा दुई मुलुकबीचको श्रम सम्बन्धमा हुनुपर्ने थप सुधारका क्षेत्रहरु तथा युएई.मा रहेका नेपाली श्रमिकको व्यावसायिक सुरक्षा लगायतका विषयमा छलफल भएको छ । भेटका अवसरमा राजदुतले नेपालबाट दक्ष जनशक्तिको माग समेत बढ्दै गएकोले त्यस्ता जनशक्तिका लागि युएईमा उच्च पारिश्रमिकको अवसर रहेको बताए ।

नेपाली कामदार युएईमा जाँदा कुनै प्रकारको शुल्क तिर्नु नपर्ने व्यवस्था हुनुपर्नेमा मन्त्री विष्टले जोड दिए । युएईमा कार्यरत नेपाली कामदारहरुको चौवीस घण्टे बीमा, श्रम करारनामा बमोजिमको न्यूनतम तलबमान र अन्य सेवा सुविधाको सुनिश्चतता हुनुपर्नेमा जोड दिईएको श्रम मन्त्रालयले जनाएको छ  । नेपाल सरकारका मागहरुप्रति युएइ सरकार सकारात्मक हुने कुरामा विश्वास व्यक्त गर्दै राजदुतले नेपाल र युएइ वीचको श्रम सम्बन्धलाई उदाहरणीय बनाउन दुबै देशका सरकारहरुको प्रयास रहनुपर्ने कुरामा व्यक्त गरेको जनाइएको छ । 

त्यसैगरी भेटर्वार्तामा श्रम स्वीकृति नलिई भिजिट भिषा लगायतका माध्यमबाट युएई जाने र काममा लाग्ने प्रवृत्तिलाई निरुत्साहित गर्नमा समेत दुवै देशका सरकारहरुको संयुक्त प्रयास गर्ने सहमति भएको छ । साथै निश्चित मापदण्ड निर्धारण गरी सरकारले तोकेका जुनसुकै स्वास्थ्य संस्थाबाट श्रमिकको स्वास्थ्य परीक्षण भएकोमा मान्य हुने व्यवस्था सुनिश्चित हुनुपर्नेमा मन्त्री विष्टले जोड दिएका छन् । 

आजै नेपालका लागि साउदी अरेवियाका कार्यवाहक राजदुत अब्दुलकरिम अलसुलाइम र श्रम मन्त्रालयका सचिव महेश प्रसाद दहालसंग शिष्टाचार भेट भएको छ । भेटघाटका अवसरमा दई देशबीच द्विपक्षीय श्रम सम्झौता र घरेलु कामदारका लागि सम्झौता गर्न प्राविधिक रुपमा छलफल गरी टुंङ्ग्याउने सहमति भएको श्रम मन्त्रालयले जनाएको छ । त्यसैगरी नेपालले साउदी अरेवियाका लागि तोकेको न्यूनतम पारिश्रमिक र सुविधा लागू गर्न साउदी अरेविया सरकारबाट पहल गर्ने विषयमा समेत छलफल र सहमति भएको छ । श्रम स्वीकृति, पुनः स्वीकृति र भिषा नवीकरणको सन्दर्भमा देखापरेका समस्या समाधान गर्ने विषयमा पनि भेटघाटमा छलफल भएको छ । भेटर्वार्तामा समेटिएका विषयहरु नेपालस्थित साउदी राजदुतावासले साउदी अरेवियाको सम्बद्ध निकायमा कार्यान्वयनका लागि पठाउने सहमति समेत भएको श्रम मन्त्रालयले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!