मन्त्रालयले कलिङ भिसा लागेका २० जनालाई मात्र मलेसिया जान श्रम स्वीकृति दिएको खुलासा

Posted on: 24 Jan, 2019

माघ १०, काठमाडौं | सरकारले २० जना कामदारलाई मात्रै मलेसिया जानका लागि श्रम स्वीकृति दिएको खुलासा भएको छ । बिहीबार संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा समितिका सचिव कृष्णहरि खड्काले मलेसियास्थित नेपाली दूतावासको आग्रहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २० जना कामदारलाई मात्रै मलेसिया जानका लागि श्रम स्वीकृति दिएको जानकारी गराएका हुन् ।

सरकारले २०७५ साल जेष्ठ २ गते कामदारमाथि म्यानपावर कम्पनीहरुले चरम आर्थिक शोषण गरेको लगायतका कारण देखाउँदै तत्कालका लागि मलेसिया कामदार पठाउन प्रतिबन्ध लगाएको थियो । तर, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यही माघ २ गते २० जना कलिङ भीसा लागेकाहरुलाई मात्रै मलेसिया जान श्रम स्वीकृति दिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार विभागलाई पठाएको पत्रमा उल्लेख गरिएको छ । मलेसियाको सेन्ट ब्राण्ड कम्पनीको आग्रह तथा त्यहाँस्थित नेपाली दूतावासको सिफारिसमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २० जनालाई मात्रै श्रम स्वीकृति दिएको सो पत्रमा उल्लेख गरिएको पनि समितिका सचिव खड्काले बताए ।

यसैबीच, बैठकमा समितिका सदस्यहरुले भने सरकारले २० जनालाई मात्रै किन मलेसिया जानका लागि श्रम स्वीकृति दिएको भन्दै आपत्ति जनाएका छन् । 

सरकारसँग हाल १० हजारको संख्यामा कलिङ भिसामा मलेसिया जान चाहानेहरुको निवेदन परेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!