११ महीनामा रु आठ खर्ब रेमिट्यान्स भित्रियो, विदेशी सञ्चिति घट्यो

Posted on: 19 Jul, 2019

साउन ३, काठमाडौँ | आर्थिक वर्ष २०७५/७६ को एघार महीनाको अवधिमा रु आठ खर्ब बराबरको विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थित’मा रु सात खर्ब ९९ अर्ब दुई करोड विप्रेषण भित्रिएको उल्लेख छ ।

समीक्षा अवधिमा विप्रेषण आप्रवाह १७.५ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा भने विप्रेषण आप्रवाह ८.१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ९.७ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ‘ट्रान्सफर’ १६.६ प्रतिशतले वृद्धि भई रु नौ खर्ब पाँच अर्ब १४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्राप्ति ०.१ प्रतिशतले बढेको थियो ।

अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या सो अवधिमा ३७.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ८.२ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या भने समीक्षा अवधिमा ५.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या १.६ प्रतिशतले घटेको थियो ।

काठमाडौँ उपत्यकामा मूल्यवृद्धि

केन्द्रीय बैंकका अनुसार २०७६ जेठ महीनामा उपभोक्ता मुद्रास्फीति काठमाडौँ उपत्यकामा ७.१ प्रतिशत रहेको छ । हिमालमा ६.५, तराईमा ५.८ र पहाडमा ५.७ प्रतिशत मूल्य वृद्धि रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति क्रमशः ३.१, ६.४ र ४.२ र ४.९ प्रतिशत रहेको थियो । 

नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.२० प्रतिशत र भारतको ३.१८ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा नेपालको मुद्रास्फीति ४.१ र भारतको पाँच प्रतिशत रहेको थियो । 

व्यापार घाटा रु १२ खर्ब नाघ्यो

आव २०७५/७६ को ११ महीनामा कुल वस्तु व्यापार घाटा १७.२ प्रतिशतले बढेर रु १२ खर्ब ११ अर्ब ९७ करोड पुगेको छ । निर्यात आयात अनुपात ६.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात ६.७ प्रतिशत रहेको थियो । 

वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट १५.१ प्रतिशत, चीनबाट ३०.७ र अन्य मुलुकबाट भएको आयात १६.१ प्रतिशतले बढेको छ । पेट्रोलियम पदार्थ, हवाईजहाज तथा पाटपूर्जा, तयारी पोशाक, विद्युतीय सामानलगायतको वस्तुको आयात बढेको छ भने सिमेन्ट, यातायातका साधन तथा पाटपूर्जा, दुरसञ्चारका उपकरण, स्वास्थ्य उपकरण तथा औजार, कच्चा भटमास, तेललगायतका वस्तुको आयात घटेको छ । 

भन्सार नाकाका आधारमा निर्याततर्फ रसुवा भन्सार कार्यालय, सुख्खा बन्दरगाहा र नेपालगञ्ज भन्सार कार्यालय बाहेक अन्य मुख्य भन्सार नाकाबाट निर्यात वृद्धि भएको छ । आयाततर्फ भने कृष्णनगर भन्सार कार्यालय बाहेक अन्य मुख्य भन्सार नाकाबाट आयात बढेको केन्द्रीय बैंकले जनाएको छ । 

शोधनान्तर घाटा रु ९० अर्बमाथि

केन्द्रीय बैंकका अनुसार गत जेठ मसान्तसम्म शोधनान्तरस्थिति रु ९० अर्ब ८३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तरस्थिति रु चार अर्ब ३४ करोडले घाटामा थियो । 

समीक्षा अवधिमा पूँजीगत ‘ट्रान्सफर’ रु १३ अर्ब ८८ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु ११ अर्ब ८१ करोड छ । अघिल्लो वर्षको पूँजीगत ‘ट्रान्सफर’ रु १५ अर्ब दुई करोड र प्रत्यक्ष वैदेशिक लगानी रु १५ अर्ब ८८ करोड रहेको थियो । 

विदेशी सञ्चिति घट्यो

गत जेठ मसान्तसम्म कूल विदेशी विनिमय सञ्चिति रु १० खर्ब ३० अर्ब ८८ करोड रहेको छ । विसं २०७५ असार मसान्तमा त्यस्तो सञ्चिति रु ११ खर्ब दुई अर्ब ५९ करोड थियो । विसं २०७५ असार मसान्तमा अमेरिकी डलरमा यस्तो सञ्चिति १० अर्ब ८ करोड रहेकामा गत जेठ मसान्तमा नौ अर्ब २५ करोड रहेको छ । 

कूल विदेशी सञ्चितिमध्ये केन्द्रीय बैंकमा विसं २०७५ असार मसान्तमा रु नौ खर्ब ८९ अर्ब ४० करोड रहेकोमा गत जेठ मसान्तमा रु आठ खर्ब ८५ अर्ब ८३ करोड रहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!