वैदेशिक रोजगार विभागको अनलाइन सेवा ठप्प, श्रम स्वीकृति नपाउंदा टिकट रद्द गर्दै व्यवसायी

Posted on: 17 Jan, 2020

मनोज पराजुली । माघ ३, काठमाडौं । वैदेशिक रोजगार विभागले संचालनमा ल्याएको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा प्राविधिक समस्या आएको छ । विभागले संचालन गरेको सर्भरमा समस्या आएका कारण अनलाइन मार्फत हुने काम गर्नमा असहज भएको विभागका आइटी इन्जिनिएर राजु श्रेष्ठले जानकारी दिए ।

अनलाइन सिस्टममा समस्या देखिएको छ, सुधारको लागि प्रयास गरिरहेका छौं, श्रेष्ठले भने 'आज अनलाइनबाट हुने सबै काम बन्द छ, हिजो केहीबेर काम गरेपनि आज चल्न सकेको छैन ।' माघ १ देखि नै केहि प्राविधिक समस्या देखिएकोले यस अगाडी नै टिकट बुकिंङ्ग गरिसकेका व्यवसायीलाई टिकट पछाडी सार्न उनले अनुरोध गरेका छन् । 

विभाग मातहत रहेको श्रम कार्यालय ताहाचलका निर्देशक सुरेश जोशीले सर्भरका कारण सेवाग्राहीलाई कुनैपनि सेवा दिन नसकिएको बताए । सिस्टम चलेपछि पहिलो प्राथमिकता टिकट बुक गरेर अन्तिम श्रम स्वीकृति लिन आउनेलाई दिइने उनले बताए । आज शुक्रबार भएका कारण पनि दिनभर अन्तिम श्रम स्वीकृतिको काम नभए शनिबार र आइतबार टिकट बुक गरेकाहरुको टिकट रद्ध भएमा ठुलो रकम नोक्सानी हुनेछ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सचिव मेघनाथ भुर्तेलले विभागका अनलाइनमा समस्या आएका कारण म्यानपावर व्यवसायीले अनावश्यक आर्थिक भार खेप्नुपरेको बताए । अन्तिम श्रम स्वीकृति नभएकै कारण धेरै व्यवसायीले लिएका टिकट हिजो रद्ध भएको जानकारी आएको बताउंदै उनले छिटो भन्दा छिटो समस्या समाधान गर्न अनुरोध गरे ।

विभागले २०२० को जनवरी १ बाट आफ्ना सम्पूर्ण सेवा पूर्ण रुपमा अनलाइन प्रणाली (वैदेशिक रोजगार सूचना प्रणाली) मार्फत शुरु गरेको थियो । तर अनलाइन सेवामा पनि पटक पटक प्राविधिक समस्या देखिंदा सेवा प्रभावित हुँदै आएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!