युएईमा नेपाली महिलाले स्मरणशक्ति गुमाइन्, उनको परिवारको खोजी हुँदै

Posted on: 17 Feb, 2020

फागुन ५, काठमाडौं। वैदेशिक रोजगारीका लागि युएई पुगेकी याम कुमारी थापाले दुबईमा स्मरणशक्ति गुमाएर सबैथोक बिर्सिएकी छिन् । हाल उनको आफन्त वा साथी खोज्नका लागि देशव्यापी रुपमा अभियान संचालन गरिएको छ ।

उनी ४६ वर्षकी थापा अरबी भाषा राम्रोसँग बोल्न सक्छिन् । अक्टोबर २०१९ देखि उनी दुबइको एक अस्पतालमा छिन् जहाँ उनको मस्तिस्कको अपरेशन पनि भएको छ तर उनले केही सम्झिन सकिरहेकी छैनन् । 


उनीसँग कुनै आफन्त वा साथी छैनन् । उनका रोजगारदाता को हुन् भन्ने पनि पत्ता लगाउन नसकिएको सामाजिक कार्यकर्ता लैला अबु बाकरलाई उद्धृत गर्दै गल्फ न्यूजले लेखेको छ । विगत ४ महिनादेखि लैलाले थापाका आफन्त, रोजगारदाता वा साथी भेट्टाउने प्रयास गरिरहेकी छिन् ताकि उनी नेपालमा कहाँकी हुन् भन्ने पत्ता लगाउन सकियोस् र उनलाई स्वदेश फर्काउन सकियोस् । गल्फ न्यूजसँग कुरा गर्दै अबु बाकरले बताए अनुसार थापालाई अक्टोबर महिनाको तेस्रो साता अचेत अवस्थामा एम्बुलेन्मा दुबइ अस्पताल ल्याइएको थियो ।

थापालाई अस्पतालले आज फेब्रुअरी १७ सोमबारका दिन डिस्चार्ज गर्दैछ । अबु बाकरले आज उनलाई आफूसँगै लैजाने भएकी छिन् । ‘मसँग कुनै विकल्प छैन’ अबु बाकरले गल्फ न्यूजसँग भनिन् ‘उनको जिम्मेवारी लिन कोही अगाडि आएका छैनन् ।’ अबु बाकरका अनुसार थापा राम्रोसँग अरबी बोल्छिन् यसबाहेक उनी नेपाली पनि बोल्छिन् । यसबाहेक उनलाई केही सम्झना छैन । उनलाई एउटा कुरा मात्र याद छ कि उनका एक छोरा छन् । ‘उनी आफ्नो एक छोरा भएको भनिरहन्छिन् । यो उनीसँग भएको एकमात्र सम्झना हो’ अबु बाकरले भनिन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!