अबदेखि म्याद सकिएको भिजिट भिषा, आईडी तथा भिषा नविकरण गर्न पाइने

Posted on: 04 Sep, 2020

भदौ १९, काठमाडौं । कतारले राहदानीको म्याद सकिएतापनि म्याद नाघेको एक वर्षभित्र कतार आईडी एक वर्षको लागि नवीकरण गर्न सकिने व्यवस्था गरेको छ । कतारस्थित नेपाली दूतावासका अनुसार कतार सरकारले दूतावासलाई गत अगष्ट ३१ मा एक परिपत्र गर्दै यसका बारेमा जानकारी गराएको हो ।

यसैगरी भिजिट भिषा पनि निश्चित अवधिका लागि नवीकरण गर्न सकिने व्यवस्थाका बारेमा जानकारी प्राप्त भएको दूतावासले जनाएको छ । कतारस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमा सूचना प्रकाशित गर्दै राहदानीको म्याद सकिएको एक वर्ष ननाघेकाहरुलाई कतार आईडी तथा भिषा नवीकरण गर्न कुनै बाधा नपर्ने स्पष्ट पारेको छ । यस्तो व्यवस्था कोभिड १९ को कारणले राहदानी जारी तथा नविकरण गर्न समस्या भएको हुनुसक्ने अवस्थाका कारण लागू गरिएको पनि दूतावासले जनाएको छ ।

यसअगाडी कतारले अगष्ट ३० मा रोजगारदाता परिवर्तन गर्न रोजगारदाताको नो अव्जेक्सन लेटर (एनओसी) आवश्यक नपर्ने तथा न्यूनतम ज्याला तोक्ने काम गरिसकेको छ । सो नयाँ दुई कानून आगामी ६ महिनाभित्रमा लागू हुनेछ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!