अनुदान पाए सँगै व्यावसायिक कृषितर्फ आर्कषित बन्दै किसान

Posted on: 24 Jan, 2018

माघ १०, झापा | सरकारले युवा तथा साना व्यवसायीलाई अनुदानमा कृषि कर्जा प्रदान गर्न थालेसँगै जिल्लाका किसान व्यावसायिक कृषिकर्मतर्फ आर्कषित भएका छन् । 

कृषि विकास बैंक लिमिटेड शाखा कार्यालय बिर्तामोडले युवा तथा साना व्यवसायीलाई अनुदानमा रु तीन करोड ८० लाख प्रदान गरेसँगै अर्जुनधारा, बिर्तामोड नगरपालिका र बाह्रदशी गाउँपालिकाका २१ जना व्यवसायीले कृषि फार्म सञ्चालन गरेर मनग्य आम्दानी गरिरहेका छन् । 


उनीहरुले व्यावसायिक रुपमा गाईपालन, माछापालन, च्याउ उत्पादन, च्याउको बीउ उत्पादन, फलफूल, तरकारीलगायत उत्पादन गरेर मनग्य आम्दानी गरिरहेका बिर्तामोड शाखाका प्रबन्धक दीपक बराकोटीले बताउनुभयो । उहाँले भन्नुभयो – “केही वर्षअघिसम्म किसानमा कृषि विकास बैंकले लगानी गर्दैन भन्ने मानसिकता थियो, अहिले व्यावसायिक कृषिकर्मका लागि कृषि कर्जा लिनेको संख्या ह्वात्तै बढेको छ ।” 

शाखा कार्यालय बिर्तामोडले ८०० ग्राहकका लागि लगानी गरेको कूल कर्जा रु ६२ करोड नौ लाखमध्ये युवा तथा साना व्यवसायीलाई अनुदानमा रु तीन करोड ८० लाख प्रदान गरिएको उहाँले बताउनुभयो । सो कर्जामा सरकारले ब्याजमा पाँच प्रतिशत अनुदान किसानलाई दिने गरेको छ । 

अनुदानमा कृषि कर्जा लिएर उत्कृष्ट कारोबार गर्नेमा बिर्तामोड–४ स्थित बिर्ता एग्रो कन्सनका सञ्चालक हर्क कार्की हुनुहुन्छ । उहाँले व्यावसायिक रुपमा माछापालन गरिरहनुभएको छ । कार्कीले बैंकमार्फत रु ६० लाख ऋण लिएर माछापालन शुरु गर्नुभएको हो । 

कार्की मात्र होइन उहाँ जस्तै अर्का व्यवसायी हुनुहुन्छ कृष्णकुमारी खत्री । उहाँले कृषि विकास बैंकबाट कर्जा लिएर बिर्तामोड–९ मा पाथीभरा च्याउ उद्योग सञ्चालन गरिरहनुभएको छ । उहाँले च्याउ उद्योगमा बीउसमेत उत्पादन गर्नुहुन्छ । खत्रीले बैंकमार्फत रु २० लाख अनुदानमा ऋण लिएर च्याउ उद्योग सञ्चालन गर्नुभएको हो । 

यस्तै, बिर्तामोड–४ की गीतादेवी भण्डारी युवा तथा साना व्यवसायी कृषि कर्जा लिने व्यवसायी हुन् । उहाँले रु १८ लाख बैंकबाट ऋण लिएर बिर्तामोड–४ मा पाथीभरा गाई फार्म सञ्चालन गर्नुभएको छ । भण्डारीले सोही फार्मबाट मनग्य आम्दानी गरिरहनुभएको छ । 

युवा तथा साना व्यवसायीका लागि कृषि विकास बैंकले लगानी गर्न शुरु गरेपछि व्यावसायिक कर्जा लिनेको संख्यामा वृद्धि हुँदै गएको छ । सो कर्जा लिन पूर्णरुपमा व्यावसायिक हुनुपर्ने, उदाहरणीय कृषक हुनुपर्ने, रोजगारीको अवसर सिर्जना गर्नुपर्ने, मासिकरुपमा ब्याज बुझाउन सक्नेलगायत प्रावधान रहेको शाखा प्रबन्धक बराकोटीको भनाइ छ । 

प्रशान्त उत्कृष्ट ग्राहक 

कृषि विकास बैंक लिमिटेड क्षेत्रीय कार्यालय विराटनगरले झापा बिर्तामोडका प्रशान्त गिरीलाई उत्कृष्ट ग्राहकका रुपमा सम्मान गरेको छ । 

विगत १७ वर्षदेखि कृषि विकास बैंकमा आबद्ध भएर नियमित, अनुशासित र सबैभन्दा बढी कारोबार गरेको भन्दै गिरीलाई उत्कृष्ट ग्राहकका रुपमा सम्मान गरेको कृषि विकास बैंक लिमिटेड शाखा कार्यालय बिर्तामोडका शाखा प्रबन्धक बराकोटीले बताउनुभयो । गिरी होटल हेवन ग्राण्डका सञ्चालक हुनुहुन्छ । उहाँले सानो व्यवसायबाट कारोबार शुरु गरेर अहिले ठूलो व्यवसाय सञ्चालन गरिरहनुभएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!