झापा दुर्घटनामा परि एकको मृत्यु, चारजना गम्भीर

Posted on: 19 Oct, 2017

कात्तिक २, दमक (रासस) | मोटरसाइकल र म्याजिक भ्यान एकापसमा जुध्दा झापाको कमल गाउँपालिकामा बुधबार एकजनाको मृत्यु भएको छ भने अन्य चारजना गम्भीर घाइते भएका छन् । 

कमल गाउँपालिकाको पाडाजुंगी–गौरीगञ्ज सडकखण्डस्थित गेउरियामा बुधबार दुवै सवारी एकापसमा जुध्दा मोटरसाइकलमा सवार झापा, गौरादह–१ का ३४ वर्षीय योगेन्द्र अधिकारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते अधिकारीको उपचार गर्न दमक ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको थियो । 

इलाका प्रहरी कार्यालय, दमकका प्रहरी निरीक्षक मिलन बस्नेतका अनुसार को २७ प २९८९ नम्बरको मोटरसाइकल र मे १ च ४९६३ म्याजिक भ्यान एकापसमा ठक्कर खाएका थिए । दुर्घटनामा परेर भ्यानमा सवार चारजनामध्ये दुई जनाको दमकस्थित लाइफलाइन र अन्य दुईजनाको भने बिएण्डसी अस्पताल, बिर्तामोडमा थप उपचारका लागि रिफर गरिएको प्रहरीले जनाएको छ । 

घाइतेमध्ये गौरादह–५ का बमबहादुर कटुवाल र उनकी श्रीमती देवीमाया कटुवालको बिएण्डसीमा रिफर गरिएको छ भने घाइतेद्वय दमक–७ का जगत विक र भरत ल्वागुनको भने स्थानीय लाइफलाइन अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!