गण्डकी प्रदेशसभामा प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने

Posted on: 18 Jul, 2018

साउन २, पोखरा | प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार गण्डकी प्रदेशसभामा विशेष सम्बोधन गर्नुहुने भएको छ । 

गण्डकी प्रदेशको राजधानी पोखराको नदीपुरस्थित प्रदेशसभा सचिवालयमा अपराह्न १२.४० बजे प्रधानमन्त्रीको विशेष सम्बोधन हुने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयका सचिव शम्भु खड्काले जानकारी दिनुभयो । 

उहाँका अनुसार विशेष सम्बोधनका लागि सचिवालयले आवश्यक तयारी पूरा गरिसकेको छ । 

संघीय संरचनाअनुरुप प्रदेशसभा गठन भएपछि यो प्रदेशमा पहिलोपटक प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्नुभएको हो । 

पोखरा विश्वविद्यालयको १९ औं वार्षिक साधारणसभामा विश्वविद्यालायका कुलपतिका हैसियतमा सभाको अध्यक्षता गर्न प्रधानमन्त्री ओली बिहीबार पोखरा आउन लाग्नुभएको हो । 

साधारणसभाले विश्वविद्यालयको आर्थिक वर्ष २०७४/७५ को वार्षिक कार्यप्रगतिको समीक्षाका साथै आ.व. २०७५/७६ को वार्षिक नीति तथा कार्यक्रम एवं बजेट पारित गर्ने विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!