नयाँ शक्ति बिद्यार्थी युनियनका महासचिव सहित दर्जन पक्राउ

Posted on: 19 Jul, 2018

साउन ३, काठमाडौँ । नयाँ शक्ति बिद्यार्थी युनियनमा महासचिव सहितका नेता कार्यकर्ता पक्राउ परेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पोखरामा कालोझण्डा देखाउने क्रममा नयाँ शक्ति बिद्यार्थी युनियनका केन्द्रीय महासचिव नेत्र चापागाई, सचिव रेशम सापकोटा, सदस्य नरेन्द्र बस्याल, ४ नम्बर प्रदेश सचिव संगीत लामिछाने लगाएतका नेता कार्यकर्ता पक्राउ परेका हुन् ।

आफ्ना नेता तथा साथीहरु पक्राउ परेपछि नयाँ शक्ति बिद्यार्थी युनियनले पक्राउ गरिएका संगठनका सबैलाई तत्काल रिहा गर्न सरकारसंग माग गरेको छ । संगठनका प्रबक्ता ओम महतोको हस्ताक्षर रहेको बिज्ञप्तिमा सार्वभौम नेपाली जनताको स्वतन्त्रतापूर्वक भेला हुने, विरोध गर्न पाउने हक अधिकारको विपरित केपी ओली सरकारले अधिनायकवादी शैलिमा शान्तिपुर्ण रुपमा प्रदर्शनमा उत्रिएका हाम्रा संगठनका केन्द्रिय महासचिव नेत्र चापागाई, सचिव रेशम सापकोटा, सदस्य नरेन्द्र बस्याल, ४ नम्बर प्रदेश सचिव संगीत लामिछाने लगाएतका साथीहरुलाई प्रहरीले प्रदेश सभाको कार्यालय, पोखराबाट धरकपट गरी अपहरणशैलीमा गीरफ्तार गरीएको घटनाको घोर निन्दा गरेको जनाएको छ ।

साथै बिज्ञप्तिमा संगठनले गीरफ्तार गरिएका साथीहरुलाई तत्काल रिहा गर्न माग गरेको छ । 'हाम्रो माग सुनुवाई नगरिए कडा संघर्षमा उत्रिने चेतावनी यसै विज्ञप्तिबाट जानकारी गराउछौं' बिज्ञप्तिमा उल्लेख छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!