गण्डकी प्रदेश प्रमुखको कार्यालयद्वारा खर्च विवरण सार्वजनिक

Posted on: 26 Jul, 2018

साउन १०, पोखरा | गण्डकी प्रदेश प्रमुखको कार्यालयले आर्थिक वर्ष २०७४/७५ को खर्च विवरण सार्वजनिक गरेको छ । 

गत माघदेखि असारसम्मको छ महिने खर्च विवरण बुधबार सार्वजनिक गरेको हो । संविधानको धारा २७ ले सूचनाको हकलाई नागरिकको मौलिकहकका रुपमा स्थापित गरेको हुनाले कार्यालयसँग सम्बन्धित खर्च विवरण सार्वजनिक गरिएको कार्यालयले जनाएको छ । 

गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरको निर्देशनमा सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४, आर्थिक ऐन २०५५, सूचनाको हकसम्बन्धी ऐन, २०६४ र सूचनाको हकसम्बन्धी नियमावली, २०६५को दफा ५ बमोजिम खर्च विवरण सार्वजनिक गरिएको कार्यालयका लेखा अधिकृत पदमराज बरालले जानकारी दिनुभयो । 

लेखा अधिकृत बरालका अनुसार रु दुई करोड ७४ लाख ८८ हजार प्रदेश प्रमुखको कार्यालयलाई विनियोजन गरिएकोमा विभिन्न शीर्षकमा रु एक करोड ९१ लाख दुई हजार ४४१ खर्च भएको छ । 

उक्त विनियोजित रकममध्ये रु ८३ लाख ८५ हजार ५५९ फ्रिज भएको छ भने कार्यालयले ६९.४९ प्रतिशत रकम मात्रै खर्च गरेको उहाँले उल्लेख गर्नुभयो । 

प्रदेश प्रमुखको कार्यालयलाई चालू खर्चमा रु एक करोड ६४ लाख ८८ हजार वार्षिक बजेट विनियोजन गरिएकोमा रु ८८ लाख ८ हजार १०७ खर्च भएको थियो । चालू खर्चमा रु ७६ लाख ७९ हजार ८९३ फ्रिज भएको छ भने ५३.४२ प्रतिशत रकम मात्रै खर्च भएको उहाँले जानकारी दिनुभयो । 

पूँजीगत खर्चतर्फ रु एक करोड १० लाख विनियोजन भएकोमा रु एक करोड दुई लाख ९४ हजार ३३४ खर्च भएको छ । सात लाख रु पाँच हजार ६६६ फ्रिज हुँदा पूँजीगततर्फ भने ९३.५८ प्रतिशत रकम खर्च भएको हो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!