नयाँ शक्तिद्वारा सर्वपक्षीय सरकार गठनको माग (बिज्ञप्तीसहित)

Posted on: 22 Feb, 2017


फागुन ११, काठमाडौ । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालले आगामी माघ ७ भित्र तीनै तहको चुनाव सम्पन्न गर्न सर्वपक्षीय सरकार गठन गर्न माग गरेको छ ।

नयाँ शक्तिको आज बसेको विशेष राजनीतिक समितिको बैठकले चुनाव सम्पन्न गर्न सर्वपक्षीय सरकार गठन गर्न माग गरेको हो । बैठकले एक वर्षभित्र हुनुपर्ने तीन तहकै चुनावका लागि आफू तयार रहेको बताएको छ ।

बैठकपछि पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘दलीय भागवण्डामा चुनावको घोषणा गर्न थालिएकाले यो सत्ता स्वार्थका लागि र चुनाव नगर्नका लागि घोषणा गरिएको चुनावका रुपमा यसलाई लिइएको छ ।’

विज्ञप्तीको पूर्णपाठ 

आज बसेको नयाँ शक्ति पार्टी, नेपालको विशेष राजनीतिक समितिको बैठकपश्चात संयोजक डा. बाबुराम भट्टराईले जारी गर्नुभएको प्रेस वक्तव्य । विशेष राजनीतिक समितिको बैठकमा काठमाडौंमा उपलब्ध केन्द्रीय कार्यकारी समितिका सदस्यहरुलाई पनि आमन्त्रण गरिएको थियो ।

१.      आवधिक निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो । संविधानसभावाट जारी भएको संविधान मुताविकको राज्यको अग्रगामी पुनर्संरचना पश्चातको निर्वाचन नियमित र पम्परागत निर्वाचन मात्रै नभै यो नयाँ संविधान नयाँ युग र नयाँ पुस्ताको अपेक्षा पूर्ति गर्ने ऐतिहासिक परिघटना पनि हो । यस अर्थमा आगामी एक वर्षभित्र हुनुपर्ने तीन तहको निर्वांचनप्रति नयाँ शक्ति पार्टी पूर्ण प्रतिवद्ध छ । सुशासन र विकास सहितको आर्थिक समृद्धिको एजेण्डाका आधारमा जनतावाट अनुमोदित हुँदै उक्त एजेण्डाहरु लागू गर्न सदा तयार र तत्पर छ ।

२.      नयाँ संविधानको सर्वस्वीकायर्ताका लागि संशोधन र यसको कार्यान्वयनको लागि संविधानले तोकेको अवधि ७ माघ २०७४ भित्र तीनै तहको निर्वाचन सम्पन्न गर्न सर्वपक्षीय सरकार अनिवार्य छ भन्ने मान्यता पनि नयाँ शक्ति पार्टीले राख्दछ । दलीय भागवण्डामा चुनावको घोषणा गर्न थालिएकाले यो सत्तास्वार्थकालागि र चुनाव नगर्नकालागि घोषणा गरिएको चुनावको रुपमा पनि यसलाई लिइएको छ । तसर्थ चुनावको निम्ति आवश्यक वातावरण तयार गर्ने र सबै पक्षबीच विश्वासको वातावरण तयार गर्ने काम सरकारले पहिले गरोस् भन्ने हामी जोडदार माग गर्दछौं ।

३.      नयाँ संविधान बमोजिमको निर्वाचनकालागि जरुरी वातावरण तयार गर्न निम्न शर्त तुरुन्त पूरा गरियोस् भन्ने नयाँ शक्ति माग गर्दछ:

क)      जारी संविधानप्रति असन्तुष्ट पक्षहरुको माग सम्बोधन गर्न संविधान संशोधन गर ।

ख)      प्रदेशको सीमांकनको विषय हल गर्दै स्थानीय तहको पुन:संरचनाको विवाद अन्त गर ।

ग)      स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचनका लागि सर्वपक्षीय सरकारको गठन गर ।

घ)      भौगोलिक अखण्डताको संरक्षण गर्दै राष्ट्रिय एकता सुदृढ गर्न स्थीरता र विकासको सुनिश्चितताकालागि प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर ।

ङ)      निर्वाचनमा हुने भ्रष्टाचार, अनियमितता रोक्न र सबैको पहुँच कायम गर्न निर्वाचन खर्च निश्चित मापदण्डका आधारमा राज्यकोषबाट व्यहोर्ने व्यवस्था गर ।

च)      समय र खर्चको मितव्ययीताका लागि संघ, प्रदेश र स्थानीय तह तीनवटैको निर्वाचन एकैचोटि सम्पन्न गर ।

डा. बाबुराम भट्टराई

केन्द्रीय संयोजक

नयाँ शक्ति पार्टी, नेपाल

यस बिषयमा तपाइको प्रतिक्रिया...!