उग्र राष्ट्रवादले मुलुकको हित गर्दैन: प्रचण्ड

Posted on: 18 Aug, 2017

भदौ २, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उग्र राष्ट्रवादले कोही कसैको पनि हित नगर्ने भएकाले त्यस्तो प्रवृत्तिको प्रतिवाद गर्नुपर्ने बताउनुभएको छ । 

पार्टी सम्बद्ध सहायक संगठन वाइसिएल नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनको यहाँ आज उद्घाटन गर्दै उहाँले अन्धराष्ट्रवादले निरंकुशतालाई प्रश्रय दिने भएकाले युवाले त्यसको प्रतिवाद गर्नु आवश्यक रहेको बताउनुभएको हो । 

अध्यक्ष दाहालले मुलुकमा दुई किसिमका तत्व हावी भएकाले त्यस्तो अतिवादी प्रवृत्ति नरोके मुलुक फासीवादतर्फ जाने भन्दै त्यसका लागि सबै सतर्क रहनुपर्ने विचार व्यक्त गर्नुभयो । 

अध्यक्ष दाहालले भन्नुभयो, “मधेसी अतिवादी राष्ट्रवाद र पहाडीया अतिवादी राष्ट्रवादलाई परास्त गर्नुपर्ने आवश्यकता छ । यी दुवै तत्वले मुलुकको हित गर्न सक्दैन ।” 

उहाँले भन्नुभयो, “अरुलाई अपमान गर्ने नभई सबैको सम्मानसहितको राष्ट्रवादले मात्रै मुलुक र जनताको हित गर्छ ।” तथाकथित अतिवादी राष्ट्रवादले जनतालाई विभाजन गरेर अन्त्यमा फासीवादमा लैजान्छ । नेपाली जनता कुनै पनि प्रकारको निरंकुशताका पक्षमा छैनन् । अन्त्यमा फासीवादमा लैजान्छ । नेपाली जनता कुनै पनि प्रकारको निरंकुशताको पक्षमा छैनन् ।” 

माओवादी कमजोर भए अहिलेको परिवर्तन नै उल्टन सक्ने आशंका व्यक्त गर्दै उहाँले वाइसिएल थप सशक्त र प्रभावकारी बन्नुपर्ने सुझाव दिनुभयो । उहाँले वाइसियल पुर्नगठित जनमुक्ति सेना भएकाले जनताको पक्षमा काम गर्न र जनतालाई एकीकृत गरेर माओवादी आन्दोलन पुनःगतिमा लैजानुपर्नेमा जोड दिनुभयो । 

उहाँले संविधान कार्यान्वयनका लागि आफ्नो नेतृत्वको सरकारले जग हालेको उल्लेख गर्दै संघ र प्रदेशको निर्वाचनपछि सो कार्यले पूर्णता पाउने बताउनुभयो । माओवादी आन्दोलनको त्याग र तपस्याबाट प्राप्त भएको राजनीतिक उपलब्धिलाई कुनै पनि शक्तिले उल्ट्याउन नसक्ने भन्दै उहाँले सहज व्यवस्थापन भने जरुरी रहेको स्पष्ट पार्नुभयो । 

कार्यक्रमलाई सम्बोधन गर्दै वाइसिएलका संस्थापक अध्यक्ष टोपबहादुर रायमाझीले युवालाई संगठिन र केन्द्रित गर्ने महाअभियानमा लाग्न सम्पूर्ण युवालाई आग्रह गर्नुभयो । स्थानीय तहको निर्वाचनले माओवादी केन्द्र नै माओवादी आन्दोलनको मूल धार हो भन्ने स्पष्ट भएकाले ढिला नगरीकन एकतामा आउन मोहन वैद्य, नेत्रविक्रम चन्द र डा बाबुराम भट्टराईलाई उहाँले आग्रह गर्नुभयो । 

आजदेखि यहाँ सुरु भएको वाइसिएलको दोस्रो महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । वाइसिएलका नेता रामप्रसाद सापकोटाका अनुसार अधिवेशनमा देशभरका करिब एक हजार प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुनेछन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!