बैतडीका मतदाता भन्छन- द्वन्द्वको घाउ मेटाउनेलाई भोट दिन्छौ

Posted on: 20 Nov, 2017

मंसिर ४, बैतडी । मंसिर १० र २१ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिक आएका बेला यहाँका मतदाताले द्वन्द्व प्रभावितको घाउ मेटाउनेलाई भोट दिने बताएका छन् । 

सशस्त्र द्वन्द्वका बेला बढी प्रभावित भएको पुर्चाैडी नगरपालिकाका मतदाताले आगामी चुनावमा द्वन्द्वका घाउ मेटाउने उम्मेदवारलाई भोट दिने बताएका हुन् । 

विगतको द्वन्द्वमा धेरैले आफ्ना आफन्त गुमाएकाले यस चुनावले विगतका घाउ मेटाउन सहयोग गर्ने पुर्चाैडी नगरपालिका हाटका डम्मरबहादुर कुँवरले बताउनुभयो । उहाँले द्वन्द्वका घाउसँगै विकास गर्न सक्ने उम्मेदवारलाई भोट दिने बताउनुभयो । 

“द्वन्द्वले चर्केका घाउमा मलम लगाउन सक्ने नेतालाई भोट दिन्छौँ,” पुरचौडी नगरपालिका कोटिलाका अम्बादत्त अवस्थीले भन्नुभयो । राजनीतिक परिवर्तनका नाममा धेरैले समस्या भोग्नुपरेकाले राजनीतिक समस्याको स्थायी समाधान खोजेको उहाँको भनाइ थियो । 

“दुर्गम क्षेत्रका द्वन्द्वपीडितका लागि आयआर्जनका कार्यक्रम सञ्चालन गर्नुपर्छ,” उहाँले भन्नुभयो । 

द्वन्द्वपीडित अब पहिलाको जस्तो द्वन्द्व नहोस् भन्ने मनसायमा रहेकाले शान्ति र स्थिरताका लागि विकासप्रेमी उम्मेदवारलाई भोट दिने पुरचौडी नगरपालिकाका रणबहादुर भण्डारी बताउनुहुन्छ । द्वन्द्वबाट पुर्चाैडी सबैभन्दा बढी प्रभावित भएकाले यहाँको समग्र विकासका लागि सबैले पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

बैंक पुनःस्थापनाको माग 

निर्वाचनको मिति नजिकिँदै गर्दा पुर्चौडी नगरपालिकाका मतदाताले उम्मेदवारसमक्ष बैंक स्थापनाको माग गरेका छन् । बैंक पुनःस्थापना नहुँदा सास्ती भोग्नुपरेको भन्दै उहाँहरुले बैंकको सुविधा हुनुपर्ने माग गरेका हुन् । 

पुर्चौडी क्षेत्रमा लोकतान्त्रिक र वाम गठबन्धनले चुनावी सभालाई निरन्तरता दिएको छ । सबै दलका नेता तथा उम्मेदवारसँग आफूहरुले बैंक पुनःस्थापना हुनुपर्ने साझा माग राखेको पुर्चौडी नगरपालिका हाटका वसन्तराज जोशीले बताउनुभयो । चुनावपछि विगतमा उम्मेदवारले फर्केर पनि नहेरेको स्थानीयवासीको गुनासो छ । 

बैतडीमा पहिलो चरणअन्तर्गत यही मंसिर १० गते निर्वाचन हुँदैछ । प्रतिनिधिसभाका लागि एउटा तथा प्रदेशसभा सदस्यका लागि दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा १२ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् । 

लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि काँग्रेस नेता तथा वाणिज्य राज्यमन्त्री नरबहादुर चन्द तथा प्रदेशसभा सदस्यका प्रदेश‘क’ मा काँग्रेसका हरिमोहन भण्डारी र ‘ख’ मा राप्रपाका गणेश चन्द चुनावी मैदानमा उत्रिएका छन् । 

वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका लागि एमालेका नेता एवं पूर्व अर्थराज्यमन्त्री दामोदर भण्डारी तथा प्रदेश ‘क’ बाट माओवादी केन्द्रका प्रेमप्रकाश भट्ट र ‘ख’ बाट एमालेका लीलाधर भट्ट उम्मेदवार रहनुभएको छ । 

प्रतिनिधिसभातर्फ विवेकशील साझाबाट नारायणदत्त अवस्थी, एकीकृत राप्रपा राष्ट्रवादीबाट त्रिलोकबहादुर चन्द र राष्ट्रिय जनमोर्चाबाट वीरेन्द्रसिंह भण्डारी चुनावी मैदानमा हुनुहुन्छ । प्रदेश ‘क’मा राष्ट्रिय जनसमाजवादी पार्टीबाट भगीरथसिंह कुँवर, राष्ट्रिय जनमोर्चाबाट अर्जुनसिंह मडै र राष्ट्रिय मुक्ति आन्दोलन नेपालबाट दिलीपराज पाण्डे उम्मेदवार हुनुहुन्छ ।  रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!