बन्द बाकसमा नेताको ढुकढुकी, ढोकामा कार्यकर्ताको डिउटी

Posted on: 30 Nov, 2017

मंसिर १४, कालिकोट । पहिलो चरणमा भएको निर्वाचनका मतपेटिकाको सुरक्षाका लागि दलका कार्यकर्ता पनि खटिएका छन् । 

कुनै पक्षले अप्रिय काम नगरोस् भनेर दलका कार्यकर्ता खटेका हुन् । जिल्ला अदालत कार्यालय कालिकोटमा राखिएका मतपत्र सुरक्षा गर्न लोकतान्त्रिक गठबन्धन र बामगठबन्धनका ७/७ जना कार्यकर्ताहरुले ड्युटी गर्ने गरेका छन् । 

पहिलो चरणमा सम्पन्न भएको निर्वाचनको मत गणना मंसिर २१ मा हुने दोस्रो चरणको मतदान सकिए पछिमात्र हुने कार्यक्रम छ । मतपेटिका जिल्ला सदरमुकाममा संकलन गरि राखिएको छ । मतपेटिकाको सुरक्षाका लागि भन्दै कांग्रेस र वाम गठबन्धनका उम्मेदवारले तोकेका नेता कार्यकर्ता सुरक्षाका लागि खटिने गरेका छन् ।


कार्यकर्ता प्रहरीसँगै मतपेटिकालाई १० दिनसम्म सुरक्षित राख्न जिल्लास्थित सुरक्षा निकाय र जिल्ला निर्वाचन कार्यालयलाई समेत हम्मेहम्मे परेको छ । तत्काल गणना नहुने भए पछि मतदाता, कार्यकर्ता र उम्मेदवारलाई धैर्य गर्न पनि गाह्रो भएको छ । त्यस अघिल्तिर हतियारधारी प्रहरी जवानले पालैपालो २४सै घण्टा पहरा दिइरहेका छन् भने अर्को घेरामा सशस्त्र र नेपाल प्रहरीका जवानको घेराले पहरा दिएको छ । 

उम्मेदवारका प्रतिनिधि र राजनीतिक दलका नेताले पनि पहरा दिइरहेका छन् । मतपेटिका राखेको भवन परिसरमा उम्मेदवार तथा प्रतिनिधिले २४सैं घण्टा पहरा दिने गरेको एमाले पार्टी जिल्ला सचिव चित्रसिंह गाउँलेले बताए । ‘दलका कार्यकर्ताहरुलाई बस्न मुख्य निर्वाचन अधिकृतको कार्यालयले छुट्टै स्थानको व्यवस्था गरेको छ’ उनले भने, ‘उम्मेदवार आफू नै उपस्थिति हुने र नभएमा प्रतिनिधि मतपेटिका राखेको स्थानमा पठाउने गरेका छन् ।’

मतपेटिका राखेको भवनको छेउछाउमा बाक्लो भिड लाग्ने गरेको छ । दलहरूले पालैपालो मतपेटिकाको निगरानी गर्न दुई दलका तर्फबाट परिचय पत्रका व्यवस्था गरेर सुरक्षा दिने गरेका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!