राजनीति फुर्सदको व्यापार हाेर्इन -चौधरी

Posted on: 04 Dec, 2017


                                                           इन्द्रजीत थारु 

                        दाङ निर्वाचन क्षेत्र नं. १ (१) प्रदेशसभा सदस्य पदका उम्मेदवार 

यही मंसिर २१ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । राजनीतिक दलका उम्मेदवारहरु मतदाता आफ्नो पक्षमा पार्न प्रचार–प्रसारमा व्यस्त छन् । दाङ निर्वाचन क्षेत्र नं. १ (१) प्रदेशसभा सदस्य पदमा वाम गठबन्धनका साझा उम्मेदवार थारु गोलाकारभित्रको हँसिया हथौडा चुनाव चिन्ह लिएर चुनावी मैदानमा छन् । इन्द्रजीत थारुसंग चुनावी एजेण्डाका बारेमा साझासबाल डटकमका दाङ जिल्ला सम्पादक सन्तोषकुमार गुप्ताले गरेको कुराकानीको सारसंक्षेप - सम्पादक

सर्वप्रथम यहाँलाई हाम्रो साझासबाल डटकमको चुनावी भलाकुसारीमा स्वागत छ ।

    यहाँलाई पनि मेरो हृदय देखि धन्यबाद ।

चुनाव प्रचार कसरी अघि बढेको छ ? 

    चुनावी प्रचार व्यापक रुपमा अगाडि बढाइरहेका छौं । जनभेटघाटको क्रमलाई तीब्र पारेका छौं । लगभग एक चरणमा सबै गाउँटोलमा पुगेर मतदातासंग भलाकुसारी गरेका छौं । मतदातालाई कुनै विशेष स्थानमा बोलाएर २–४ घण्टा भाषण सुनाएर फर्काउने परिपाटीका विपरीत उहाँहरुका घर आँगनमै पुगेर अन्तक्रियात्मक छलफल र प्रचार अभियान चलाएका छौं । केही स्थानमा जनसभाहरु गरेर हाम्रा कुरा मतदातासमक्ष पु¥याएका पनि छौं । 

जनता कतिको उत्साहित भएको पाउनुभएको छ ? 

    जनता स्वाभाविकरुपमा उत्साहित हुनुहुन्छ । यसमा खासगरी दईवटा ऐतिहासिक कारण छन्  जस्तो लाग्छ । पहिलो नयाँ संविधान बनिसकेपछि त्यसको कार्यान्वयनको चरणमा हामी छौं । नेपालमा पहिलोपटक प्रदेशसभाको निर्वाचन हुँदैछ । अर्कोतर्फ नेपालको राजनीतिक इतिहासमा दुईवटा ठूला वामपन्थी शक्तिहरुको गठबन्धनले पनि जनतामा उत्साह थपेको छ । बहुमत जनसंख्या कम्युनिष्ट हुँदाहुँदै पनि वर्षौदेखि जनताले उत्पीडन भोग्दै आए । अब त्यो उत्पीडनको इतिहास क्रमभंग हुने चरणमा छ र त्यो इतिहास भत्काउने जिम्मेवारी जनताकै हातमा छ । यसकारण पनि जनता उत्साहित भएको देख्छु । उहाँहरुसंग भेटघाट गर्दा दुई कम्युनिष्ट मिलेर भोट माग्न आएकोमा खुशी प्रकट गर्नुभएको छ भने यो एकताको चरणसम्म पु¥याउन सुझाव दिइरहनुभएको छ । मलाई लाग्छ यिनै शुभकामना तथा सुझाव पनि जनतामा देखिएको उत्साहका परिणाम हुन् । 

 तपाईका चुनावी एजेण्डा के छन् ? 

    सबैभन्दा पहिलो कुरा त दुई ठूला पार्टीबीच चुनावी गठबन्धन भएको छ । यो पनि एक किसिमले जनतामाझ लगिएको एजेण्डा नै हो । दुई कक्युनिष्ट बीचको एकताप्रति जनताले कस्तो जनमत देखाउनुहुन्छ ? दोस्रो कुरा हामीले स्थायी सरकारमार्फत विकास र समृद्धिको यात्रा तय गर्ने घोषणापत्र नै जारी गरेका छौं । नौ–नौ महिनामा उलटपुटल भइरहेको सरकारका कारण विकास र समृद्धिको यात्रा  अगाडि बढ्न सकेन । विगतका निर्वाचनमा कुनै पनि दलले बहुमत नपाएका कारण यसो हुन गएको हो । तर अबको निर्वाचन मार्फत हामी केही वर्ष मात्र हैन, केही दशक स्थायी र त्यसमा पनि बामपन्थी सरकार नै चलाउनेछौं । घोषणापत्रमा उल्लेख गरिएका कुरा कार्यान्वयन गर्नेछौं । निर्वाचन जितिसकेपछि बस्ने पहिलो प्रदेश सभाबाट नै दाङलाई प्रादेशिक राजधानी घोषणा गरिने छ । 

देउखुरी क्षेत्र धेरै सम्भावना बोकेको तर त्यसलाई कार्यान्वयनमा नल्याइएको क्षेत्र हो । यहाँको माटो एकदमै उर्वर छ । त्यसमा आधुनिक कृषि प्रणालीमार्फत हामी उत्पादकत्व बढाएर घरमै रोजगारीको अवसर सिर्जना गर्नेछौं । भारतसंग जोडिएका पूरै २२ वटा नाकामा प्रत्यक्ष राजधानीसम्म पुग्न सकिने गरी सडक सञ्जाल जोडिनेछ । सडकले सबै क्षेत्र छुने वित्तिकै स्वाभाविकरुपमा त्यसले विकासको चहलपहल सुचारु गराएर मुख्य वैदेशिक व्यापार केन्द्रका रुपमा विकास गरिनेछ । देउखुरी क्षेत्रमा ठूलो जनसंख्या भएपनि आधिकारिरुपमा आफ्नो जग्गाको स्वामित्व ग्रहण गर्न नपाएको स्थिती छ यसर्थ सबै सुकुम्वासी भूमिहीन किसानलाई लालपूर्जा प्रदान गरिनेछ । यस्तै दुई वर्षभित्र भू–उपयोग नीति लागु गरेर कृषियोग्य, व्यापारयोग्य, उद्योग योग्य, बसोबास योग्य जमिन छुट्याएर काम अगाडि बढाउनेछौं । जनताका गास, वास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारमा निःशुल्करुपमा सबैको पहुँच पु¥याउनेछौं । राप्ती नदीलाई दुई वर्षभित्र दुवैतिर तटवन्ध गरेर जमिनको कटान रोक्नेछौं र यसलाई वरदान सावित गर्नेछौं । सामाजिक सुरक्षा भत्ता पाँच हजार पु¥याउनेछौं । देउखुरी क्षेत्रमा विविधतापूर्ण बसोवास रहेको छ । खासगरी चौधरी र यादव समुदायको बसोवास रहेकाले उहाँहरुले संस्कृतिको जगेर्ना गर्न विशेष अभियानहरु चलाउनेछौं । प्रदेशस्तरमा त एउटा कला,साहित्य तथा संस्कृतिक प्रतिष्ठान स्थापना गरिनेछ , भ्रष्टाचारमा शुन्य सहनशीलता अपनाउदै सेबा प्रवाहलाई पनि पारदर्शी, असल आचरण र जवाफदेहीताको ग्यारेण्टी उन्मुख गरिनेछ । गरिव असहाय तथा पिछडिएका बर्गहरुका लागि निःशुल्क कानुनी परामर्श तथा सहयोगको व्यवस्था गरिने छ ,जसलाई आश्वासनका रुपमा मात्र नभई साँच्चिकै हामी कार्यान्वयन गरेर नै देखाउने छौं । 

उसो भए तपाईका चुनाव जित्ने आधार के–के छन् ? 

      हेर्नुुस, म राजनीतिमा आएको दुई चार वर्ष मात्र भएको छैन र आउँदा दुई चार वर्षका लागि मात्र मैले राजनीति गर्ने पनि हैन । लाउँ–लाउँ खाउँ–खाउँ भन्ने उमेरमा म राजनीतिमा होमिएँ । खासगरी आफैले भोगेको र देखेको उत्पीडनको परिणामस्वरुपः १६, १७ वर्षको छँदा नै म राजनीतिमा होमिएको थिएँ । लाग्छ परिवर्तनप्रति कत्ति पनि विचलित नभई म निरन्तर संघर्ष गर्दै आएको छु । एउटा सामान्य परिवारमा जन्मिएर मैले परिवर्तनका लागि पु¥याएको योगदान जनयुद्धकालभरि पार्टीको नेतृत्वदायी भूमिका र शान्ति प्रक्रियापछि अन्तरिम संसदको विधायक र २०६४ सालको निर्वाचनबाट संविधान सभा सदस्य नै भएँ । जनताबाट निरन्तर अनुमोदित हुँदै आएको छु । मलाई लाग्छ मैले निर्वाचन जित्ने यो एउटा प्रमुख आधार हो । अर्कोतिर मैले जुन–जुन भूमिका प्राप्त गरें त्यसलाई पूर्ण इमान्दारीता निर्वाह गरेको छु । जनताको भावना विपरीतको सम्झौता र पदको दुरुपयोग मैले कहिल्यै गरिनँ र गर्ने पनि छैन । राजनीति फुर्सदमा समय बिताउन आउने पेशा हैन । यसका लागि निरन्तर त्याग र समर्पण चाहिन्छ । 

यस्तै राजनीतिमा लामो समय बिताएका कारण मसंग कामको अनुभव पनि छ जसलाई म अबको विकास र समृद्धिको यात्रामा व्यवहारमा उतार्नेछु । संविधानसभा सदस्य छँदा राज्य पुनसंरचना समितिमा काम गरे । हाल जुन तहको निर्वाचन भइरहेको छ । यसको ऐन निर्माण गर्ने समिति हो त्यो । यसर्थ संघीय र प्रादेशिक संरचनाको कार्यान्वयनका लागि अनुभव र त्ययमा आवश्यक पर्ने ज्ञान मसंग योसंगै देउखुरी क्षेत्रको विकासको आधार तयार पार्ने काम पनि मैले नै गरेको हुँ । कालाकाटे–सिक्टा सडकखण्डलाई पिच जखेरा र जगलकुटीलाई पर्यटकीय गन्तव्यका रुपमा विकास, जस्तै राप्तीमा तटबन्ध निर्माणको कार्य मेरै पहलमा भएका हुन् । यस्तै सीमा क्षेत्रको विकासका लागि सीमा क्षेत्र विकास कार्यक्रम पनि मेरै पहलमा सञ्चालनमा आएको हो ।  यसर्थ मतदाताले मलाई जिताउनुहुनेछ भन्ने विश्वाँस छ ।

अन्त्यमा थप केही भन्नु छ कि ? 

    अबको चुनाव नेपालका लागि एउटा सामान्य चुनाव मात्र नभई विकास र समृद्धिको यात्रा तय गर्ने नगर्ने निर्णय गर्ने ऐतिहासिक अवसर हो । निर्वाचन हुने तर जनताले कहिल्यै परिवर्तनको अनुभूति गर्न नपाउने परिपाटीको अन्त्य गर्ने नगर्ने निर्णय गर्ने बेला हो । यो कुन पार्टी र नेतालाई निर्वाचन जिताउने र कसलाई हराउने भनेर गरिन लागेको चुनाव मात्र हैन । स्थायी सरकारमार्फत मुलुकलाई समृद्धिको यात्रामा अगाडि बढाउन आवश्यक निर्णय गर्ने निर्वाचन पनि भएकाले मतदान गर्दा गम्भीर भइदिन म आम जनतालाई अपिल गर्न चाहन्छु । क्षेत्रगत विकासका लागि महत्वपूर्ण आधारका रुपमा लिइएको दाङ प्रादेशिक राजधानी निर्माणका लागि पनि हाम्रा सबै उम्मेदवारले चुनाव जित्नु अत्यावश्यक छ । म फलानो पार्टीको अर्को पार्टीलाई भोट किन दिउँ ? जस्ता पुराना आग्रह पूर्वाग्रहबाट मुक्त भएर यसपटक स्थायी सरकारका लागि वामपन्थी उम्मेदवारलाई भोट दिन आग्रह गर्न चाहन्छु । अन्त्यमा, मेरा कुरा राख्ने मौका दिनुभएकोमा साझासबाल डटकम अनलार्इनलार्इ धन्यवाद ।    

यस बिषयमा तपाइको प्रतिक्रिया...!