समानुपातिकको मतगणना सकियो, कुन दलले कति मत पाए, कति सिट पाए ?

Posted on: 17 Dec, 2017

पुस २, काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार १ करोड ५ लाख भन्दा बढी खसेपनि ९५ लाख ४४ हजार ७४१ मत मात्र सदर भएको छ । 

समानुपातिक मत परिणाम अनुसार सबैभन्दा पहिलो दल बनेको नेकपा एमालेले ३१ लाख ७३ हजार ४९४ मत पाएको छ ।

त्यस्तै दोस्रो दल नेपाली कांग्रेसले ३१ लाख २८ हजार ३८९ मत पाएको छ । उसले एमालेले भन्दा ४५ हजार १०५ मत कम पाएको हो । उता माओवादी केन्द्रले १३ लाख ३ हजार ७२१ मत प्राप्त गरेको छ । चौथो दल राजपाले ४ लाख ७२ हजार २५४ मत पाएको छ भने पाँचौं दल संघीय समाजवादी फोरमले ४ लाख ७० हजार २०१ मत पाएका छन् ।

बाँकी ४४ दलले थ्रेसहोल्ड कटाउन सकेनन् 

यस पटकको निर्वाचनमा छैटौं ठुलो दल बनेको विवेकशील साझा पार्टीले २ लाख १२ हजार ३६३ मत प्राप्त गर्यो तर थ्रेसहोल्ड भने कटाउन सकेन । त्यस्तै राप्रपाले १ लाख ९६ हजार ७८२ मत प्राप्त गरेको छ । त्यस्तै राप्रपा प्रजातान्त्रिकले ८८ हजार ३७७, नयाँ शक्तिले ८१ हजार ८३७ र राष्ट्रिय जनमोर्चाले ६२ हजार १३३ मत पाएका छन् ।

कुन दललाई कति सिट ?

प्रतिनिधिसभाको समानुपातिकमा ३ प्रतिशत थ्रेसहोल्ड राखिएकाले सम्भावना रहेका दलहरु समेतले समानुपातिकमा थ्रेसहोल्ड कटाउन सकेनन् । कुल सदर मतको ३ प्रतिशत अर्थात २ लाख ८६ हजार ३४२ मत नपाएका दलहरुले समानुपातिक सिट पाउने छैनन् । यही मतलाई आधार मान्दा थ्रेसहोल्डको नजिक पुगेको विवेकशील साझा पार्टी ७३ हजार ९७९ मतले पछाडी पर्यो । 

निर्वाचन आयोगले भेरिफाइ गर्न बाँकी भएकाले त्यसपछी औपचारिक रुपमा कुन दलले कति पाउने भन्ने जानकारी पाउन सकिने भएपनि आंकलन अनुसार एमालेले ४१ सिट, कांग्रेसले ४० सिट, माओवादी केन्द्रले १७ सिट, राजपा र फोरमले ६/६ सिट पाउने देखिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!