संवैधानिक समस्या देखाएर जनादेशलाई पछि पार्न खोजिँदैछ: महरा

Posted on: 17 Jan, 2018

माघ ३, पोखरा । नेकपा (माओवादी केन्द्र)का नेता एवं पूर्व उपप्रधानमन्त्री कृष्णबहादुर महराले सरकारले संवैधानिक समस्या देखाएर जनादेशलाई पछि पार्न खोजेको बताउनुभएको छ । 

प्रेस सेन्टर कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेता महराले दुइवटै पार्टीको बीचमा कुनै पनि समस्या पैदा नहोस् भन्ने सोचका साथ राष्ट्रियसभाको निर्वाचनपछि सरकार बनाउने गरी तयारी गरेको बताउनुभयो । 


सरकारको आजभोलि नै प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने हल्ला गरेको भए पनि उसको नियत राम्रो नदेखिएको उहाँले बताउनुभयो । निर्वाचनको जनादेशअनुसार दुई पार्टी मिल्नुको विकल्प नभएको बताउँदै उहाँले यसका लागि दुवै पार्टीका अध्यक्षबीच कुराकानी भएको र पार्टी संयोजन समितिको पनि बैठक बसी छलफल गरिएको उल्लेख गर्नुभयो । 

सो अवसरमा पूर्व सभामुख एवम् माओवादी केन्द्रकी नेत्री ओनसरी घर्तीले आफू तत्कालीन अवस्थामा सभामुख जस्तो पदीय जिम्मेवारीमा रहेका कारण प्रत्यक्षतर्फबाट चुनाव नलडेको बताउनुभयो । 

पत्रकार सम्मेलन प्रेस सेन्टर कास्कीका कार्यवाहक अध्यक्ष सन्देश श्रेष्ठको अध्यक्षतामा भएको थियो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!