राष्ट्रियसभा अध्यक्षमा गणेश तिमिल्सिना निर्वरोध

Posted on: 12 Mar, 2018

जिपि पौडेल/फागुन २८,काठमाडौं। राष्ट्रियसभाको अध्यक्षमा नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा प्रदेश नं ४ का सहसंयोजक गणेश तिमिल्सिना निर्विरोध निर्वाचित हुनुभएको छ ।


राष्ट्रियसभामा सोमबार उहाँको मात्रै उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित हुनुभएको हो । 

वाम गठबन्धनबाट राष्ट्रियसभाको अध्यक्षका उम्मेदवार बनेर निर्विरोध निर्वाचित हुनुभएका नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा प्रदेश नं ४ का सहसंयोजक गणेश तिमिल्सिना पर्वतको मोदी गाउँपालिका–७ तथा तत्कालिन राम्जा देउराली गाविसमा जन्मनुभएको हो ।

राष्ट्रियसभामा प्रदेश नं ४ बाट विजयी तिमिल्सिना बाबु तुलसीप्रसाद तिमिल्सिना तथा आमा हिरादेवी तिमिल्सिनाको कोखबाट २०१८ साल जेठ १२ गते उहाँको जन्म भएको हो । राम्जा ठाँटीस्थित पशुपती उच्च माविबाट २०३७ सालमा एसएलसी उत्तिर्ण उहाँले पोखरामा रहेको पृथ्वी नारायण क्याम्पसबाट व्यवस्थापनमा प्रमाणपत्र तह उत्तिर्ण हुनुभयो । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिलबाट राजनीति सुरु गर्नुभएका तिमिल्सिना युवा संघको केन्द्रीय सदस्य, मुस्ताङ जिल्ला र बाग्लुङ जिल्लाको सचिव हुनुभयो । 

पञ्चायतकालमा राजनीतिमा लागेका कारण २०४२ साल साउनदेखि २०४६ साउनसम्म तिमिल्सिनाले जेल बस्नुपर्यो । वि सं २०४६ सालको आन्दोलनमार्फत बहुदलीय व्यवस्था लागू भएपछि उहाँले जिल्लामा सक्रियता बढाउँदै २०४९ सालको स्थानीय निर्वाचनमा राम्जा देउराली गाविस अध्यक्ष हुनुभयो । त्यसैगरी २०५४ सालको स्थानीय निर्वाचनमा समेत राम्जाकै अध्यक्ष हुँदै जिल्ला सभापति चुनिनुभयो । त्यसपछि २०५४ सालमा एमालेको बैकल्पिक केन्द्रीय सदस्य, २०६४ सालको आठौं महाधिवेशनबाट केन्द्रीय सदस्य र नबौं महाधिवेशनपछि पोलिटब्यूरो सदस्य हुनुभयो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!