सातै प्रदेशका मुख्य मन्त्री बानेश्वरमा

Posted on: 13 Mar, 2018

फागुन २९, काठमाडौँ | मुलुकका सातै प्रदेशका मुख्यमन्त्री, सभामुख, मन्त्री एवं प्रदेशसभा सदस्यहरु आज संघीय संसद् भवन परिसर बानेश्वरमा भेला हुनुभएको छ । 

संघीय गणतन्त्र नेपालको राष्ट्रपति पदको निर्वाचनमा मतदाताका रुपमा भाग लिन उहाँहरु काठमाडौँ आइपुग्नुभएको हो । सो निर्वाचनमा प्रदेशसभाका ५४९ सदस्य मतदाता छन् । 

त्यस्तै संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) का ३३१ सदस्य मतदाता छन् । राष्ट्रपति पदको निर्वाचनका लागि यतिका संख्यामा जनप्रतिनिधि पहिलो पटक राजधानीमा उपस्थित भएका हुन् । 

संघीय संसद् भवन परिसरको पूर्वपट्टिको खुल्ला स्थानमा संघीय संसद् सदस्य र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको छ । संघीय संसद्को तुलनामा प्रदेशसभा सदस्यको संख्या बढी भएकाले प्रदेशसभा सदस्यको लाइन निकै लामो देखिएको छ । 

राष्ट्रपति पदको निर्वाचनका लागि ९ बजेदेखि मतदाता निर्वाचनस्थलमा प्रवेश गरेका थिए भने १० बजे बिहानदेखि मतदान शुरु भइसकेको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!