एमाले बैठकः समूहका टोली नेता सुझाव राख्दै

Posted on: 25 Sep, 2021

असोज ९, काठमाडौँ । नेकपा एमाले केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ललितपुरस्थित शनिबार दिउँसो साढे ३ बजेबाट सुरु भएको साे बैठकमा समूह टाेली नेताबाट सुझाव राख्ने काम भइरहेकाे छ। 

शुक्रबार विधान महाधिवेशनमा पेस गर्ने राजनीतिक र सांगठनिक प्रतिवेदन तथा विधान संशोधनको प्रस्ताव बैठकमा पेस भएको थियो । अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्तावमाथि शुक्रबारबाटै समूहगत छलफल भएको थियो । केन्द्रीय कमिटीमा १० वटा समूह बनाएर भएको समूहगत छलफलको सुझाव टोली नेताले अाज सुनाउँदैछन् । ७ प्रदेश इन्चार्जसहितको ७ समूह, विभागीय प्रमुख, फाँट प्रमुख उपप्रमुख, विशेष तथा सम्पर्क मञ्च गरी १० वटा समूहको नेताले सुझाव राखिरहेका छन् ।

उनीहरुले दिएको सुझाव अनुसार तीनवटै प्रतिवेदन परिमार्जनसहित पारित गरिने एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए । केन्द्रीय समितिले पारित गरेका प्रतिवेदन विधान महाधिवेशनमा पेस गरिने उनको भनाइ छ । एमालेले आगामी असोज १५ देखि १७ गतेसम्म पहिलो विधान महाधिवेशन गर्ने तयारी गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!