सुदूरपश्चिमको दशैं भक्तिभावमा केन्द्रित

Posted on: 03 Oct, 2016
  • १७ आश्विन /डडेल्धुरा - दशैं शुरु भएसंगै डडेल्धुरा लगायत सुदूरपश्चिमका विभिन्न जिल्लामा रहेको देवी तथा अन्य देवताका मन्दिरहरुमा पूजाआजा शुरु भएको छ । देशका अन्यभागमा दशैंमा खानपीन रमाइलो गर्ने चलन रहेको भएपनि सुदूरपश्चिमका जिल्लाहरुमा पूजापाठ गर्ने, जाग्राम बस्ने लगायतका चलनहरु रहेका छन । सुदूरपश्चिममा दशैंको बेला खानपीन भन्दा भक्तिभावमै बढी केन्द्रित हुने गरेको पाइन्छ । डडेल्धुराका विभिन्न शक्तिपीठ र देवताका मन्दिरमा घटस्थापनादेखि नै पूजाआजा शुरु भएको छ । धेरैजसो नागरिकले नवरात्रीको ९ दिनसम्म चोखो भोको रहेर पूजापाठ गर्ने चलन रही आएको छ । जिल्लाका उग्रतारा, घटालथान, शिव मन्दीर लगायतका मन्दिरमा जाग्राम बस्नेहरुको भीड लागेको छ । दशैंका बेला दिइने पशुबली पछिल्लो समयमा चलाइएको हुनाले पशुबली आवश्यक नरहेको जनाइएको छ । शास्त्रहरुमा गलत कर्मको बलिदिने, घमण्डको बलिदिने, अहंकारको बलिदिने कुराहरु उल्लेख गरिएको तर पशु बलि दिनुपर्ने कुरा कतै उल्लेख नभएको बताइएको छ । दुर्गा पक्षमा प्रत्येक दिन ९ ओटा भगवतीको पूजा गर्ने चलन रही आएको छ । आश्विन शुक्लपक्षको पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ । नौ दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ । दुर्गाको प्रतीकका रुपमा महानवमीसम्म हरेक दिन फरक फरक गरी नौ कन्याको पूजा गरिन्छ । बडादसैँको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ भने महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेले दसैँ घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्छन् । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम पाठ गरिन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!