मनहरी र हाँडीखोला दुवै गाविसको अस्थित्व रहने गरी नाम राख्न माग

Posted on: 05 Nov, 2016

हेटौडा ,२० कार्तिक

मकवानपुरको हाँडीखोलाका प्रमुख राजनीतिक दलका नेताहरुले मनहरी र हाँडीखोला दुवै गाविसको अस्थित्व रहने गरी नाम राख्नुपर्ने र दुवै गाविसलाई पायक पर्ने गरी केन्द्र बनाउनुपर्ने माग गरेका छन् । गाउँपालिकाको नाम मनहरी राख्ने र केन्द्र ज्यामिरेमा राख्ने भन्दै मनहरीका बासिन्दाले एकोहोरो अडान कसिरहेको भन्दै हाँडीखोलाका नेताहरुले असन्तुष्टि जनाएका छन् । उनीहरुले दुवै गाविसलाई पायक पर्ने केन्द्र मनहरीको रजैया वा हाँडीखोलाको लामिटार हुने भन्दै यसलाई नै कायम गरिनुपर्ने बताएका छन् । यस्तै गाउँपालिकाको नामाकरण गर्दा हाँडीखोला र मनहरी दुवै गाविसको अस्थित्वलाई समेट्दै दुवै गाविसले अपनत्व ग्रहण गर्ने नाम खोज्न अनुरोध गरेका छन् । नेपाली काँग्रेस हाँडीखोला सभापति चन्द्रबहादुर न्यौपानेले हाँडीखोला र मनहरीको केन्द्र रजैयामा हुनुपर्ने अडान प्रस्तुत गरे । ‘केन्द्र रजैयामा हुनुपर्छ अन्त भयो भने हामी मान्दैनौं’, उनले भने, ‘रजैयामा केन्द्र राखिँदा दुवै गाविसका जनतालाई पायक पर्छ ।’ कुनै एउटा गाविसको नामलाई गाउँपालिकाको नाम दिंदा अर्को गाविस असन्तुष्ट हुने भन्दै

उनले नयाँ नाम खोज्नुपर्ने सुझाव दिए । यस्तै नेकपा एमाले हाँडीखोला सचिव हरिशरण पौडेलले भने, ‘बरु हामी नगरमा जान तयार रहेका छौं तर पश्चिमको मनहरी पुगेर फेरि पूर्वमा रहेको हेटौंडा आउन हामी सक्दैनौँ ।’ मनहरीका केही नेताहरुले मनहरी बाहेक विकल्पै छैन भने जसरी आफ्नो तर्क प्रश्तुत गरेको भन्दै उनले यसले हाँडीखोलाबासीलाई अन्यायमा पार्ने धारणा राखे । ‘केन्द्रको लागि लामिटारमा प्रशस्त जग्गा पनि रहेको छ । केन्द्र लामिटारमा नै राख्नुपर्छ । यदी लामिटार मान्य हुँदैन भने रजैयालाई केन्द्र बनाउनुपर्छ’, पौडेलले भने । नेकपा माओवादी केन्द्र हाँडीखोलाका अध्यक्ष गजाधर सुवेदीले दुवै गाविसका जनताको बीचमा रजैया वा लामिटार नै पर्ने भन्दै यही दुईमध्ये एक स्थानमा केन्द्र बनाउनुपर्ने माग गरे । ‘रजैया वा लामिटारमा केन्द्र बनाउँदा कसैलाई पनि अन्याय हुँदैन’, उनले भने, ‘गाउँपालिकाको नाम मनहरी राखेमा हामीलाई अमान्य हुनेछ ।

नयाँ नाम खोज्नुपर्छ ।’ त्यसैगरी राप्रपा नेपाल गाविस अध्यक्ष बीरबहादुर थिङले मनहरी र हाँडीखोलाको अन्तिम स्थानबाट फिता लगाएरै नापेपनि रजैया र लामिटार नै बीचमा पर्ने तर्क गर्दै यही उपयुक्त विकल्प भएको बताए । ‘कहाँ नेर मनहरी र हाँडीखोला जोडिएको छ त्यहीँ नै नयाँ गाउँपालिकाको केन्द्र बनाउनुपर्छ’, थिङले भने, ‘मनहरी गाउँपालिका राखेमा हाँडीखोलाका बासिन्दाले अन्याय महसुस गर्नेछन्, यसकारण नयाँ नाम खोजिनु आवश्यक छ ।’ हाँडीखोलाका नेताहरुले मनहरीका बासिन्दा र यहाँका राजनीतिक दलले एकोहोरो पेल्न खोजेमा गाउँपालिका नस्वीकार्ने र हेटौंडा उपमहानगरपालिकामा मिल्न तयार रहेको चेतावनी दिएका छन् । ‘हामी उल्टो बाटो हिँड्न तयार छैनौं । दुवै गाविसलाई केन्द्र पर्ने रजैया वा लामिटारमा गाउँपालिकाको केन्द्र राखिएमा हामी मान्छौं, नत्र मान्दैनौं’, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी भरत पराजुलीले भने, ‘स्थानीय जनताको चाहनालाई वेवास्ता गरिन्छ भने स्थानीयको चाहना अनुरुप आन्दोलन गर्न तयार छौं । हाँडीखोला हेटौंडामा मिसिन तयार छ ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!