उदाउँदो सूर्यलाई अर्घ दिई छठ सम्पन्न

Posted on: 07 Nov, 2016

कात्तिक २२, पोखरा । उदाउँदो सूर्यलाई अर्घ दिई यस वर्षको छठ पर्व पोखरामा सकिएको छ । 

व्रतालु भक्तजनले आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिई रातभर नदीनालाका किनारमा भजन किर्तन गरी रमाइलो गरेका थिए । 

पोखराको केदारेश्वर मन्दिरस्थित फेवाताल, नारायणथानस्थित सेतीनदी र कालीखोलाको सङ्गमस्थलमा गरी तीन ठाउँमा छठ पर्व मनाइएको थियो । 

विशेषगरी तराईमूल र पहाडी जातीका मानिसले पनि ती ठाउँमा छठ पर्व मनाएको बताइएको छ । पछिल्ला वर्षमा तराई समुदायका व्यक्ति मात्र नभएर पोखरा र यस आसपासमा बसोबास गर्ने अन्य जातीका व्यक्तिले पनि छठ मनाउन थालेका छन् । 

चतुर्थीको दिनदेखि सुरु भएको छठ पर्वमा षष्ठीको दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सकिने गर्दछ ।

व्रत बस्ने व्यक्तिले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुका दूध, चामल र सख्खरको खीर पकाई प्रसादका रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि खुवाउने प्रचलन रहेको छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!