पोखरा उपत्यका बृहत सफाइ अभियान जारी, ५ टन फोहोर संकलन

Posted on: 12 Nov, 2016

कात्तिक २७, पोखरा । पोखरामा जारी २४ औं हप्ताको सफाइ अभियान सफलताका साथ म्पन्न भएको छ । नालामुखस्थित गणेशमानसिंह चोकदेखि तेर्सापट्टी, पालिखेचोक हुँदै नदीपुरस्थित वडा समितिको कार्यालयसम्म सफा गर्दै करिब ५ टन फोहोर मैला संकलन गरिएको सामाजिक अभियन्ता एवं तेर्सापट्टी टोल विकास संस्थाका उपाध्यक्ष रजनी श्रेष्ठले जानकारी दिइन् ।

सफाइ अभियानका क्रममा दुर्गन्धित नाली सफा गर्नुका साथै सडकपेटी छेकेर पसल राख्ने व्यापारीहरुलाई सचेत गराउने, प्लाष्टिक झोला बिक्री वितरण तथा प्रयोग नगर्न समेत आहवान गरिएको सामाजिक अभियन्ता अञ्जु केसीले बताइन् । यसअघि सहभागीलाई सामाजिक अभियन्ता एवं नेपाली कांग्रेस पोखरा नगर सभापति वजिरमान श्रेष्ठले सपथ खुवाएका थिए ।

सफाइ अभियानका लागि समाजसेवी प्रकाशमान उदासले २ सय जोर ग्लोब र मास्क, पोखरा उपमहानगरपालिकाका वरिष्ठ कानुन अधिकृत नारायणप्रसाद शर्मालाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा नेपाली सेना र वडा प्रहरी कार्यालय, बगरका सुरक्षाकर्मी, स्थानीय आमा समूह, टोलबासी,नगरपालिकाका कर्मचारीलगायत सामाजिक अभियन्ताको उपस्थिति रहेको वडा नं. ३ का वडासचिव सविता बास्तोलाले जानकारी दिइन् ।

सहभागीलाई सरसफाइ शाखाका अधिकृत चूडामणि तिवारीले धन्यवाद ज्ञापन गरेका थिए । २५ औं हप्ताको सफाइ कार्यक्रम नालामुखस्थित गणेशमान सिंहचोकदेखि गणेशस्थान मन्दिरतर्फ हुने सामाजिक अभियन्ता चन्द्रबहादुर गुरुङले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!