अाज देखि पाेखरामा अाैधाेगिक व्यापार मेला सुरू

Posted on: 04 Mar, 2016

शिव न्याैपाने/फागुन २१, पाेखरा । अाज देखि पोखराको नयाँबजारमा सुरु हुने राष्ट्रिय औद्योगिक ब्यापार मेलाको तयारी पूरा भएको छ ।

आयोजक पोखरा उद्योग बाणिज्य संघले हिजाे मेला स्थलमा पत्रकार सम्मेलन गरी मेलाको सबै तयारी पूरा भएको जानकारी दिएको हो ।

चैत्र १ गतेसम्म सञ्चालन हुने मेलाको अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ । संघका अध्यक्ष बिन्दु कुमार थापाले मेलाका लागि गठन गरिएको मुल आयोजक समिति र अन्य विभिन्न उपसमितिले आ आफ्नो तयारी पुरा गरेको जानकारी दिनुभयो । मेलामा जम्मा ३ सय ६ स्टल रहने आयोजकले जनाएको छ ।

यस बर्ष ब्यापार मेलासँगै सुचना प्रविधि मेला पनि सञ्चालन हुने भएको छ । मेला स्थलमा रहेको डोम भित्र ७८ स्टल सुचना प्रविधि मेलाको लागि छुट्याईएको छ । अन्य स्टल मध्ये मिनि डोम १८, रेष्टुरेष्ट १५, अटो ४५, मेड इन नेपाल पेभेलियनमा ३५, कृषिको १४, हस्तकलामा १०, फ्लोरिकल्चरमा ६ र ८५ वटा साधारण स्टल रहनेछन् । मेलाको ३ लाख दर्शकहरुले अवलोकन गर्ने र १ करोड ११ लाख रुपैया आम्दानी गर्ने आयोजकको लक्ष्य छ । मेला सम्पन्न गर्न ८३ लाख ७० हजार खर्च लाग्ने र २७ लाख ५० हजार रुपैया बचत हुने अनुमान गरिएको छ । क्यान कास्कीसँगको सहकार्यमा सुचना प्रविधि मेला पनि सँगै गर्न लागिएकाले यसपटक अनलाइन टिकट बुकिङ गर्नेलाई ५० प्रतिशत छुटको व्यस्वस्था समेत गरिएको छ ।

टिकट काटेर मेला प्रवेश गर्ने र सांगितिक कार्यक्रममा उत्कृष्ट नृत्य गर्ने एक जनालाई गृहलक्ष्मी ग्यास समेत प्रदान गरिने भएको छ । मेला अन्तर्गत २२, २५, २८ र ३० गते उत्कृष्ट नाच्ने एक जनालाई भरिएको सिलिण्डर ग्यास उपहार प्रदान गरिनेछ । मेलाबाट बचत भएको रकम क्षेत्रीय स्तरको प्रदर्शनीस्थल पोखरा प्रदर्शनी केन्द्रको पूर्वाधार निर्माणमा विशेष प्राथमिकता प्रदान गरी खर्च गरिने संघले जनाएको छ ।

टिकट बिक्रीबाट प्राप्त रकमबाट विगतका वर्षहरुमा थालिएको सामाजिक कार्यलाई निरन्तरता दिँदै पोखराको विकासका लागि चार रुपैया र संघद्धारा संचालित बालश्रम न्यूनिकरण कार्यक्रमलाई एक रुपैया छुट्याइएको महासचिव रविन्द्र वहादुर प्रजुले जानकारी दिनुभयो । मेलालाई अर्घाखाँची सिमेण्टले मुख्य प्रायोजन गरेको छ । महोत्सबका बेला पोखरा आउने पाहुनालाई होटलमा २० प्रतिशत छुटको समेत ब्यबस्था गरिएको आयोजकले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!