र्याण्डमको बहसमा प्रश्नहरूको कारखाना

Posted on: 12 Mar, 2016

फागुन २९, पोखरा । कवि सरिता तिवारीको कविता सङ्ग्रह ‘प्रश्नहरूको कारखाना’माथि शनिबार पोखरामा चर्चा भएको छ ।

र्याण्डमको रिडर्स सोसाइटी अफ् नेपालले आफ्नो ६१ औँ पुस्तक परिचर्चा कार्यव्रmममा तिवारीको सो कृतिको चर्चा गरिएको हो । कृतिमाथि परिचर्चा गर्दै समालोचक तथा लेखक डा. अर्चना थापाले तिवारीको कृति वर्तमान मूल धारका कविताभन्दा भिन्न रहेको जिकिर गर्नुभयो ।

“तिवारीका कविताहरुमा आवेग, संवेग, आव्रmोश, आत्मनिर्णय, स्वस्वामित्व र स्वअस्तित्वको चेत प्रशस्तै छन्” थापाले भन्नुभयो, “काव्यिक मर्यादालाई लत्याउँदै सिमाहरू भत्काउने प्रयासमा युद्धको रक्तिम सौन्दर्यको गुणगान गर्न हिच्किचाउँदिनन् कवि तिवारी ।” प्रत्येक साहित्यिक अभिव्यक्तिमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपले कुनै न कुनै प्रकारको राजनीतिक विचारधारा हुने बताउँदै अक्षर व्रिmयशनकी अध्यक्ष समेत रहनुभएकी थापाले स्वच्छन्दवादी कविको कल्पनाशीलता, अनुभूति, संवेग, आवेग र सिर्जनात्मक हर्षतिरेक अभिव्यक्तिलाई समेत राजनीतिक विचारले प्रभाव पार्ने बताउनुभयो ।

कवि तिवारीले आफ्नो कविताको जरा पोखरा नै रहेको भन्दै पोखरा जहिले पनि आफ्ना लागि ‘भर्जिन’ अनुभूतिको स्थान रहने बताउनुभयो । रचनाको वर्गीय पक्षधरताका पक्षमा बोल्दै तिवारीले संसारका कुनै समाज वा व्यक्ति पूर्ण रुपमा स्वतन्त्र नहुने भएकाले सिर्जना पनि पूर्ण रुपमा स्वतन्त्र हुनै नसक्ने ठोकुवा गर्नुभयो । प्रगतिशील लेखक सङ्घ चितवनकी अध्यक्ष समेत रहनुभएकी तिवारीले कृतिमा आफूले वैचारिक कवितालाई कलाले लेपन लगाउने प्रयास गरेको बताउनुभयो । तिवारीका यसअघि बुद्ध र लाभाहरु तथा अस्तित्वको घोषणापत्र गरी दुई कविता सङ्ग्रह प्रकाशित छन् ।

सोसाइटीका अध्यक्ष उपेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यव्रmममा पुस्तक छनोट समितिकी संयोजक सरस्वती प्रतीक्षाले आगामी चैत २७ गते हुने ६२ औँ शृङ्खलामा अमृत सुवेदीले ब्रजेशको उपन्यास ‘जुनेली’माथि परिचर्चा गर्नुहुने जानकारी दिनुभयो ।

सचिव रुपिन्द्र प्रभावीद्वारा सञ्चालित कार्यव्रmममा प्रगतिशील लेखक सङ्घ, कास्कीका अध्यक्ष डा. कृष्णराज अधिकारी, नेपाली लेखक सङ्घ, कास्कीका पूर्व अध्यक्ष डा. लक्ष्मीशरण अधिकारी, सोसाइटीका पूर्व अध्यक्षद्वय राजेन्द्र चापागाईँ र गनेस पौडेल, दीपक पराजुली, मदन भण्डारी, रघुनाथ अधिकारीलगायतले टिप्पणी गर्नुभएको थियो । सोसाइटीले हरेक महिनाको अन्तिम शनिबार कुनै पुस्तक वा विषयमाथि परिचर्चा गर्दै आएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!