पाेखरामा हुने सार्क परराष्ट्रमन्त्री स्तरिय बैठक अाज देखि

Posted on: 14 Mar, 2016

शिव न्याैपाने, चैत १, पाेखरा / अाजदेखि चैत ४ गतेसम्म पोखरामा हुने सार्क परराष्ट्रमन्त्रीस्तरीय बैठकको तयारी स्वरूप हिजाे सवारीको पूर्वअभ्यास गरिएको छ । पोखरा विमानस्थलदेखि परराष्ट्रमन्त्रीहरूको बैठकस्थल पोखरा ग्रान्ड होटलसम्म सो अभ्यास गरिएको हो ।

उक्त पूर्वअभ्यासमा मूल सहयोग समितिका संयोजक एवम् क्षेत्रीय प्रशासक शङ्करप्रसाद कोइराला, क्षेत्रीय सुरक्षा समिति एवम् जिल्ला सुरक्षा समितिका पदाधिकारी लगायतको उपस्थिति थियो । पोखरा विमानस्थलमा सञ्चारकर्मीहरूको जिज्ञासामा क्षेत्रीय प्रशासक कोइरालाले बैठकका लागि आवश्यक सम्पूर्ण तयारी भइसकेको जानकारी दिनुभयो । पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायब महानिरीक्षक मिङ्मार लामाले बैठकका लागि सम्पूर्ण सुरक्षा व्यवस्था गरिएको बताउनुभयो ।

जिल्ला सुरक्षा समितिका संयोजक एवम् कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले प्रभावकारी सुरक्षा व्यवस्थाका लागि एकीकृत सुरक्षा योजना अन्तर्गत सबै व्यवस्थापन गरिसकिएको जानकारी दिनुभयो । उहाँले बैठक बाहेक विशिष्ट पाहुनाले पर्यटकीयस्थल पोखराको अवलोकन गर्न चाहेमा पनि सुरक्षा व्यवस्था तयारी रूपमा राखिएको बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!