पर्यटन प्रबर्धनका लागि घोडा दौड

Posted on: 26 Mar, 2016

चैत १३, पोखरा । खेल पर्यटनको प्रवद्र्धन एवम् विकासका लागि आगामी वैशाख ११ देखि १५ गतेसम्म पर्यटकीय नगरी पोखरामा प्रतियोगितात्मक घोडा दौड एवम् प्रदर्शनी हुने भएको छ ।

प्रदर्शनीबारे जानकारी दिन आज यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा नेपाल घोडचढी सङ्घका केन्द्रीय सदस्य एवम् पश्चिमाञ्चल घोडचढी सङ्घका अध्यक्ष लोकजङ्ग लामाले खेल पर्यटनलाई लक्षित गरी घोडा दौड एवम् प्रदर्शनी आयोजना गरिएको बताउनुभयो ।

पोखराको पर्यटनको विकासका लागि घोडचढी पर्यटन पनि एउटा महत्वपूर्ण पाटो बन्न सक्ने बताउँदै उहाँले घोडाको ट्रेकिङ ट्रेलसमेत निर्माण गरी पर्यटकलाई आकर्षण गर्न सकिने धारणा राख्नुभयो ।

पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले साहसिक पर्यटनका लागि पोखराको पहिचान कायम गर्दै साहसिक पर्यटनका रुपमा घोडचढी पर्यटनलाई अघि बढाउन सकिने उल्लेख गर्नुभयो ।

रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराका उपाध्यक्ष चौबहादुर गुरुङले खेल पर्यटनले पछिल्ला समयमा चासो र चर्चा पाइरहेको बताउँदै घोडचढी पर्यटन पनि सम्भावना बोकेको क्षेत्र भएको उल्लेख गर्नुभयो ।

पोखरा उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष मीनराज काफ्ले, नेपाल पत्रकार महासङ्घ कास्कीका सचिव त्रिभुवन पौडेल, वातावरण तथा सामाज सुधार समितिका अध्यक्ष राजन पौडेल, जिल्ला पशु सेवा कार्यालयका प्रमुख राकेश प्रजापति, नेपाल पशु स्वास्थ्य प्राविधिक सङ्घका महासचिव सुरेश श्रेष्ठलगायतले पोखराको साहसिक पर्यटनमा घोढचढी पर्यटनलाई पनि विकास गर्न सकिने भएकाले यसको प्रचार–प्रसार अपरिहार्य भएको बताउनुभयो

यस बिषयमा तपाइको प्रतिक्रिया...!