ओझेलमा च्याङलुङ गुफा, संरक्षणमा स्थानीयको चासो

Posted on: 02 Jan, 2017

प्रकाश धौलाकोटी/पुस १८, तेह्रथुम । सुदाप गाउँ विकास समितिमा रहेको च्याङलुङ गुफा प्रशस्त पर्यटीय सम्भावना भएपनि उचित प्रचार प्रसार नहुँदा ओझेलमा रहेको छ । 

तर केही साता अघि मात्रै विभिन्न संचार माध्यमबाट गुफा ओझेलमा रहेको भन्ने समाचार प्रकाशनमा आएपछि गुफाको संरक्षण र संवद्र्धनमा स्थानीयबासी तथा सरोकारवालाहरुले चासो व्यक्त गरेका छन् । शुक्रबारे बजारदेखि करिब १५ मिनेटको सवारी यात्रापछि सो गुफासम्म पुग्न सकिन्छ । एक वर्ष अघिनै गुफासम्मे सडक सुविधा पुगेको छ । 

अब यसको उचित संरक्षण संवद्र्धन गर्दै प्रचार प्रसार गर्न सके उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना रहेको स्थानीय तथा सुदाप गाविस सचिव हरिप्रसाद कोइरालाले बताए । अहिले स्थानीयले गुफाको सीमा क्षेत्र निर्धारण तथा संरक्षणकालागि एउटा समिति नै गठन गरेका छन् । समितिले गुफाको सिमा क्षेत्र निर्धारण र संरक्षणको काममा विभिन्न निकायसँग बजेट माग गरिरहेको समितिका सचिव कमानसिंह आंखेवाले जानकारी दिए । 

यो गुफा करिब ३ किलोमिटर लामो रहेको स्थानीय बताउँछन् । हालैमात्र जिल्लाका सरोकारवालाहरुको टोलीले गुफाको अवलोकन गरेको छ । टोलीले गुफाको करिब २ सय ५० मिटर भित्रसम्म छिरेर निरीक्षण गरेको टोलीमा रहेका फक्ताङलुङ सांस्कृतिक मन्चका अध्यक्ष सन्तोष तिगेलाले बताए । गुफाको संरक्षण गरी प्रचारमा ल्याउन सके पर्यटकीय सम्भावना रहेको उनले बताए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!