डडेल्धुरामा जिप दुर्घटना हुँदा १५ जना घाइते

Posted on: 12 Jan, 2017

पुस २८, डडेल्धुरा । डडेल्धुरामा बुधबार बेलुका जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । 

डडेल्धुरा सदरमुकामबाट कैलपालमाडौँ गाविसको ग्रामीण सडकबाट सदरमुकाम रुमायल जाँदै गरेको से १ ज ७८७ नंको जिप गणेशपुर गाविसको सिमलपुर गाउँमा दुर्घटना भएकोे हो । 

दुर्घटनामा परी घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ । 

जिप सडकबाट करिब ३० मिटर तल भिरमा खसेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । ग्रामीण सडक साँघुरो हुँदा घुम्तीमा गाडीलाई मोड्न पर्याप्त ठाउँ नहँुदा गाडी मोड्न नसक्दा दुर्घटना भएको घाइतेको भनाइ रहेको छ । 

जिपमा १० बोरा सिमेन्ट र एक क्विन्टलभन्दा बढी छड राखिएको थियो । जिल्लाका ग्रामीण क्षेत्रमा सञ्चालन हुने यात्रुवाहक जिपमा मानिससँगै व्यापारिक प्रयोजनका सामग्रीसमेत बोक्ने गरेका छन् । डडेल्धुरा जिल्लाका ग्रामीण क्षेत्रमा निर्माण भएका अधिकांश सडक मापदण्ड विपरीत रहेकाले ग्रामीण क्षेत्रमा पटकपटक यातायातका सवारीसाधन दुर्घटना हुने गरेका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!