बिगतका बर्षहरुको तुलनामा यसबर्ष डडेल्धुरा जिल्लामा कुष्ठ रोगका बिरामीहरुको संख्यामा बृद्धि

Posted on: 29 Jan, 2017

माघ १६,डडेल्धुरा ।  डडेल्धुरा जिल्लामा पछिल्ला बर्षहरुको तुलनामा यस बर्ष कुष्ठ रोगका बिरामीहरुको संख्यामा बृद्धि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराद्धारा आइतबार सार्वजनिक तथ्याङ्कका आधारमा पछिल्ला दुई आर्थिक बर्षहरुको तुलनामा यसबर्ष कुष्ठ रोगका बिरामीहरुको संख्यामा बृद्धि भएको हो । गत आर्थिक बर्ष २०७२÷०७३ मा ८ जना कुष्ठ रोगका बिरामीहरु रहेका थिए भने चालु आर्थिक बर्ष २०७३÷०७४ को अहिले सम्ममा ९ जना कुष्ठ रोगका बिरामीहरु रहेको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ । जसमा गत बर्षको तुलनामा यस बर्ष १ जना बिरामी बढी रहेको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका क्षयकुष्ठ सुपरभाइजर सुरज खड्काले जानकारी दिनुभएको छ । आवाज..

खड्काका अनुसार ९ जना कुष्ठ रोगका बिरामीहरु मध्ये ७ जना कुष्ठरोगका धेरै किटाणु भएका बिरामीहरु र २ जना कम किटाणु भएका बिरामीहरु रहेका छन । यस्तै आर्थिक बर्ष २०७१÷०७२ मा १७ जना कुष्ठ रोगका बिरामीहरु रहेको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ । बिरामीहरुको संख्यामा बृद्धि हुनुको एकिन कारण भने थाहा हुन नसकेको उहाँले बताउनु भयो । कुष्ठ रोगका बिरामीहरुलाई निःशुल्क औषधि तथा विशेष उपचारको व्यवस्था मिलाइएको जानकारी दिदै नियमित रुपमा औषधि सेवन गर्नेहरुको सङ्ख्या पनि बढ्दै गइरहेको क्षयकुष्ठ सुपरभाइजर खड्काले जानकारी दिनुभएको छ । उहाँका अनुसार कुष्ठरोग लागेका कारण वैवाहिक, रोजगारी, व्यक्तिगत, सामाजिक, धार्मिकलगायतका कार्यमा कुष्ठरोगीलाई समस्या आउने गरेको छ । यो रोगको उपचारका लागि कुष्ठरोगका धेरै किटाणु भएको व्यक्तिले लगातार एक वर्षसम्म रिफामपिसन, ड््याप्सोन र क्लोफाजामिन भन्ने तीन प्रकारको बहुऔषधिको सेवन गर्नुपर्ने उहाँले बताउनुभयो । यसैगरी कुष्ठरोगका थोरै किटाणु भएका व्यक्तिले छ महिनासम्म रिफामपिसन र ड्याप्सोन गरी दुई प्रकारको औषधि सेवन गर्नुपर्ने जनाइएको छ । कुष्ठरोग जुनसुकै उमेरका मानिसमा लाग्ने गरिए पनि विशेष गरी १०–१४ र ३५–४४ वर्ष उमेरका मानिसमा यो रोगको प्रभाव बढी देखिने गरेको क्षयकुष्ठ सुपरभाइजर खड्काले बताउनुभयो ।

यसैबीच ‘समयमानै कुष्ठरोगको उपचार गराँैं, अपाङ्गता हुनबाट बचौं’ भन्ने मूलनाराका साथ डडेल्धुरामा पनि ६४औं विश्व कुष्ठरोग दिवस मनाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराको आयोजनामा पोखरा बजार देखि उग्रतारा स्वास्थ्य चौकी सम्म सचेतनामूलक ¥याली समेत निकालिएको थियो । ¥याली पश्चात उग्रतारा स्वास्थ्य चौकी पोखरामा एक औपचारिक कार्यक्रमको आयोजना समेत गरिएको थियो । कार्यक्रममा बिभिन्न सरोकारवाला निकायका प्रमूख तथा प्रतिनिधि, स्वास्थ्यकर्मी, बिभिन्न क्षेत्रका प्रमूख तथा प्रतिनिधिहरु र स्थानिय नागरिकहरुको सहभागिता रहेको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!