सामुदायिक वनले दिएको खुसी

Posted on: 15 Mar, 2017

चैत २, तेह्रथुम । छातेढुङ्गा– ९, माझीगाउँका बिमाया माझीको परिवारलाई एक वर्ष अघिसम्म अँध्यारोमा रात कटाउनुपथ्र्यो । दिनभर मेलापात गरी साँझमा घर फर्केर अन्धकारमै भात पकाइ खानुपथ्र्यो । केटाकेटीले पनि पढ्न पाउँदैनथे । 

तर अहिले माझी परिवारले अन्धकारमा बस्नु परेको छैन । गाउँको सामुदायिक वन समूहबाट निःशुल्क रुपमा सोलार पाएपछि माझी परिवारको दिन फेरिएको छ । सामुदायिक वनले अनुदानमा सोलार उपलब्ध गराएको हो । 

“मट्टितेल किन्ने पैसा नहुँदा गोबरका गुइँठा बालेर रात गुजार्नुपथ्र्यो, धिपधिपे उज्यालोमा केटाकेटी पढ्न मन गर्दैनथे,” माझीले भन्नुभयो– “सोलार जडान गरेपछि केटाकेटी रातिसम्म मन लगाएर पढ्न् थालेका छन् ।” 

माझी परिवारलाई जस्तै छातेढुङ्गा– ८ का गोपाल बर्देवाको परिवारलाई सामुदायिक वन समूहमार्फत पाएको सोलार बत्तीले राहत मिलेको छ । घरमै सिलाइकटाई व्यवसाय गर्ने बर्देवाको ६ जनाको परिवारलाई पनि मट्टितेल र गोबर गुइँठाबाट छुट्कारा मिलेको छ । 

सोलार बत्ती जोडेपछि सबैभन्दा बढी राहत विद्यार्थीलाई पुगेको छ । सोलार बत्ती जोडेपछि राति अबेरसम्म काम गर्ने गरेका छन् । रेडियो बजाउन र मोबाइल चार्ज गर्न समेत सहज भएको छ । सामुदायिक वन समूहमार्फत सोलार पाएपछि विपन्न परिवारका झुप्रामा बत्ती बलेको छ । 

छातेढुङ्गा र इवा गाविसका सामुदायिक वन समूहमा आवद्ध विपन्न परिवारलाई सोलार वितरण गरिएको हो । नेपाल ग्रामीण पुनःनिर्माण संस्था र सामुदायिक वन उपभोक्ता महासङ्घको साझेदारीमा सञ्चालित बहुसरोकारवाला वन कार्यक्रमअन्तर्गत यहाँका २९० घरधुरीलाई २० वाट क्षमताको सोलार प्रदान गरिएको सामुदायिक वन उपभोक्ता महासङ्घका जिल्ला अध्यक्ष तुलसी सङ्ग्रौलाले बताउनुभयो । 

इवाका १४ वटा सामुदायिक वनका ८२ र छातेढुङ्गाका १५ वटा सामुदायिक वनका दुई सय आठ उपभोक्ताले अहिले सोलार बत्ती प्रयोग गर्न थालेका छन् । सोलार खरिदमा सरकारले ५० प्रतिशत अनुदान दिएको छ । वन समूहको साझेदारीमा कार्यक्रममार्फत सोलार खरिद बत्ती जडान गरिएको हो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!