आठराईमा ‘महिला हिंसा पीडित राहत कोष’ स्थापना

Posted on: 21 Mar, 2017

प्रकाश धौलाकोटी/चैत ८, तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकाका महिलाले हिंसामा परेका महिलालाई तत्काल राहत, उद्धार र न्यायकालागि ‘महिला हिंसा पीडित कोष’ निर्माणको अभियान थालेका छन् । 

हिंसामा परेका महिलालाई तत्काल राहत, उद्धार र पुनःस्थापना तथा न्यायकालागि आवश्यक रकम अभाव हुँदा घरैमा पीडा सहेर बस्नुपर्ने बाध्यता आइपर्ने भन्दै महिला अधिकारकर्मीहरुले हिंसा पीडित कोष खडा गर्न अभियान थालेका हुन् । कोषको सुरुवातमा नै महिलाहरुले करिब दुई लाख रुपैयाँ संकलन गरेका छन् । 

कोषमा झापाको एभरेष्ट बोर्डिङका फाउण्डर कोषराज प्याकुरेलले २५ हजार, देउराली सोसाइटी तेह्रथुमले २० हजार, इवा गाविसले ५० हजार लगायत साविकका सबै गाविस र विभिन्न दाताहरुबाट गरी करिब दुई लाख रुपैयाँ जम्मा भइसकेको आठराई महिला अधिकार मञ्चकी अध्यक्ष देवीमाया भुजेलले बताउनुभयो । 

सो कोषमा जम्मा हुने रकमकालागि १३ प्रतिशत व्याजदरले सक्रान्तिबजारस्थित श्रमकण बचत तथा ऋण सहकारी संस्थामा खाता सन्चालन गर्ने समेत निर्णय भएको उहाँले बताउनुभयो । 

कोषको ब्याजबाट आठराई क्षेत्रका हिंसामा परेका महिलालाई सहयोग पुग्ने भएको छ । कोषमा सहयोग गर्न इच्छुक सबै समाजसेवी, महिला अधिकारकर्मीहरुमा आग्रह समेत गरिएको मञ्चले जनाएको छ । कोषलाई कसरी परिचालन गर्ने ? भन्ने विषयमा कार्यविधि नै बनाएर कोष परिचालन गरिने महिला अधिकारकर्मी शनिशा भेटुवालले बताउनुभयो । 

‘आर्थिक अभावकै कारण हिंसा पीडित महिला घरैमा अन्याय सहेर बस्न बाध्य हुन्छन्, उहाँले भन्नुभयो, ‘कत्ति पटक त हामीले व्यक्तिगत रुपमा सहयोग गरेका छौँ, अब कोष निर्माणपछि उनीहरुलाई सहयोग पुगोस् भन्ने हाम्रो लक्ष्य हो ।’

 यहाँका महिलाहरुलाई संगठित हुन तथा कोष निर्माणकालागि जिल्लाको देउराली सोसाइटी नामक गैरसरकारी संस्थाले सहजीकरण र सहयोग गरिरहेको छ । सो संस्थाको स्थानीय अधिकार कार्यक्रमको सहयोगमा आठराई क्षेत्रका साविकका सात वटै गाविसमा गाउँ स्तरीय तथा वडा स्तरीय समेत महिला अधिकार मन्च गठन भएका छन् । गाउँमा महिला अधिकार मञ्च गठन भएपछि महिलाहरुका विषयमा बहस, पैरवी र अधिकारका सवालहरुमा छलफल हुने गरेका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!