डडेल्धुरामा झैँझगडा मिलाउन महिलालाई मेलमिलाप तालिम

Posted on: 12 Apr, 2017

चैत ३०, डडेल्धुरा । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा अमरगढी नगरपालिकाभित्रका महिलालाई समाजिक मेलमिलापसम्बन्धी तालिम दिइएको छ । 

अमरगढी नगरपालिका भित्रका २५ अगुवा महिलालाई चुनावको समयमा र अन्य समयसमेत हुने झँैझगडा गाउँमै मिलाउनका लागि सहजकर्ताको भूमिका निर्वाह गर्न तालिम आयोजना गरिएको आयोजक संस्था समुदायिक मेलमिलाप केन्द्र डडेल्धुराका अध्यक्ष भरत नेपालीले जानकारी गराउनुभयो । 

स्थानीयस्तरमा हुने झगडा, बहुविवाह, घरेलु हिंसा, अशंबन्डासम्बन्धी घटनालगायतका कुरा मिलाउन सहजीकरण गर्नका लागि सहभागी महिलालाई सो तालिम दिइएको हो । 

अधिवक्ता हरि भट्ट अधिवक्ता रोहित देउवा, अमगढी नगरपालिका सूचना अधिकृत लालबहादुर साउदलगायतले सहभागीहरुलाई तालिमका विविध विषयमा जानकारी गराउनुभएको थियो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!