रीडि–रुद्रबेणी–वामीटक्सार सडकखण्डमा कालोपत्रे सुरु

Posted on: 03 May, 2017


बैशाख २०, गुल्मी । रीडि–रुद्रबेणी–वामीटक्सार सडकखण्ड अन्तर्गत ५ किलोमिटर सडकको कालोपत्रे सुरु भएको छ । 

पहिलो चरणमा नादेयाखोला देखी उल्लीखोला सम्मको करिब ५ किलोमिटर सडकको कालोपत्रे सुरु भएको हो । सडक कालोपत्रेको जिम्मा रसुवा ए.बि.ए. जे.बि. काठमाण्डौले लिएर काम गरिरहेको छ । 

नादेयाखोला भन्दा अगाडी रीडि सम्मको कालोपत्रे गर्ने जिम्मेवारी कालीगण्डगी कोरिडोरको भएको उक्त कम्पनीका प्रतिनिधि सुरेन्द्रराज लम्सालले जानकारी दिए ।

उनले यही आर्थिक बर्षभित्रमा काम सम्पन्न गर्ने गरी काम अगाडी बढाएको बताए । ‘यो आर्थिक बर्षमा पहिलो प्याकेजको सम्पुर्ण काम सक्ने लक्ष्य लिएका छौ’ । उनले भने ‘बढीभन्दा बढी मेसीनहरुको प्रयोग गरिएकोले समयमै काम सम्पन्न हुने आशा राखेका छौ’ ।

उनले पहिलो चरणको काम समेपछि दोस्रो चरणमा उल्लीखोलाबाट बाँकी खण्डमा काम सुरु गरीने जानकारी दिए । साथै उक्त क्षेत्रमा अहिले गाभ्रेल गर्ने काम भने जारी रहेको बताए ।

देशमा भइरहेका बिभिन्न प्रक्रियाले यो समयमा बजेट अभाब भएकोले प्रशस्त बजेट पठाउन नसकिएको आयोजना प्रमुख सुदन अधिकारीले जानकारी दिए । ‘बहुबािर्षय योजनामा परेर जति मोटो रकम बिनियोजन भएको भएपनि अहिले रकम पठाउन सकिएको छैन ।’ उनले भने ‘बजेट अभाब भएकोले बिभिन्न प्याकेजमा काम गर्न लगाइएको हो ।’

उक्त सडकको स्तरोन्नती सँगै कालोपत्रे गर्नको लागि ४८ करोड ७३ लाख बजेट बिनियोजन भएको गुल्मी क्षेत्र नम्बर २ का सांसद चन्द्र भण्डारीले जानकारी दिए । उनले उक्त सडक पश्चिम भेगकै ब्यस्त भएको हुनाले र यो क्षेत्रका स्थानीयहरुले लामो समयदेखी दुख पाइरहेको हुनाले यसरी बजेट बिनियोजन भएको जानकारी दिए ।

पहिलो र दोस्रो चरणमा गरिने कालोपत्रेले रीडिदेखी वामीसम्मको बाटोमा केही भएपनि सहजता ल्याउने कुर्घाका समाजसेवी ज्ञानहरी सापकोटाले बताए । ‘थोरै मात्रामा कालोपत्रे भएपनि यात्रामा सहजता थपिने छ ।’ उनले भने ‘यो आर्थिक बर्षपछि स्थानीयहरुको यात्रा सजिलो बन्ने छ ।’

उनले यसरी सडकको लागि बजेट करोडौ बजेट बिनियोजन बनाएकोमा सांसद चन्द्र भण्डारीलाइ आभार समेत ब्यक्त गरे ।

३६ किलोमिटर रहेको यो सडकको स्तरोन्नतीको कामको कुराहरु बर्षाै पहिलेबाट सुरु भए पनि धेरै समयपछि काम सुरु भएको छ । सडक फराकिलो बनाउने तथा अन्य ब्यबस्थापकीय काम पनि धमाधम भइरहेको देखिन्छ । वामीसम्म नै सडक स्तरोन्नतीको लागि काम भइरहेको देख्न सकिन्छ । रीडि देखी वामी सम्मको पुरै सडक कालोपत्रे भयो भने यस क्षेत्रका स्थानीयहरुले राहातको अनुभुती गर्न सक्नेछन । -अनिश शर्मा गैरेको सहयोगमा 


यस बिषयमा तपाइको प्रतिक्रिया...!