काठमाडौंमा भयानक दुर्घटना: माइक्रोले पैदलयात्रीलाई सोहोर्दै लग्यो, एकको मृत्यु

Posted on: 22 Jun, 2017


असार ८, काठमाडौं । काठमाडौँको जोरपाटीमा अनियन्त्रित भएको माइक्रो बसले पैदलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

 बा १ ज ९८०९ नम्बरको माइक्रोबसले सुरुमा मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकल चालक लडेपछि माइक्रोले पैदलयात्रीलाई सोहोर्दै रोकी राखेको गाडीमा गएर ठोक्किएको  प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका मध्ये जोरपाटी क्षेत्रमा साइकलमा फलफुल बेच्ने भारत श्रीपुरका २७ वर्षीय रूपलाल साहको उपचारका क्रममा मृत्यु भएको छ ।  

उनीसँगै रहेका अर्का फलफुल बिक्रेता भारत श्रीपुरकै प्रदीपकुमार साहको गम्भीर अवस्थामा जोरपाटी मेडिकल कलेजमा उपचार भइरहेको छ भने पैदलयात्री ६५ वर्षीया चीनमाया बुढाथोकीको शंकरापुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै मोटरसाइकलमा सवार अन्य तीन घाइतेहरूको अवस्था सामान्य रहेकाले उनीहरू उपचारपछि घर फर्किसकेको उनले जनाए ।

माइक्रो बस ब्रेक राम्रो नलाग्ने अवस्थामा रहेको र तीव्र गतिमा चलाएका कारण दुर्घटना भएको प्रहरीको भनाइ छ । माइक्रो बसलाई प्रहरीले निणन्त्रणमा लिएपनि चालक फरार रहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!