रामेछापमा बाढीले घर बगाउँदा दुईको मृत्यु, तीन बेपत्ता

Posted on: 16 Jul, 2017


साउन १, रामेछाप । गएराति परेको अविरल वर्षाका कारण रामेछापको खिम्ती र फर्पुको सिमानामा रहेको बस्तीमा बाढी पस्दा दुईको मृत्यु भएको छ भने तीनजना बेपत्ता भएका छन् । 

जिल्ला प्रहरी कार्यालय, रामेछापका प्रहरी नायब उपरीक्षक कुमोद ढुंगेलले लिखु गाउँपालिका वडा नं ६, खिम्तीकी ७५ वर्षीया बालकुमारी खत्रीको शव फेला परेको, अर्का एकजनाको पनि शव फेला परेको र सनाखत हुन बाँकी रहेको बताउनुभयो । त्यसैगरी अन्य छ जना घाइते रहेका छन् । घाइतेको उद्धारका लागि हेलिकप्टर मगाइएको छ । 

बाढीले खिम्तीबाट फर्पुतर्फ जाने सडकमा पर्ने छत्तिवने खोलाको पुल बगाएको छ । पुल नजिकका दुई घरसमेत बगेका छन् । शनिबार दिउँसोदेखि खिम्ती क्षेत्रमा वर्षा भएको थियो । राति १० बजेपछि खहरे र छत्तिवनेमा बाढी बढेको थियो । 

स्थानीयवासीका अनुसार खिम्तीबजारमा रहेका खहरेपुलको उत्तरतर्फको गल्छीबाट बजार क्षेत्रमा बाढी पसेकाले केही घरमा क्षति पुगेको छ । बजारमा पार्किङ गरेका सवारीसाधनमा पनि बाढीले क्षति पु¥याएको छ । खहरेपुल निर्माणाधीन अवस्थामा भएकाले डाइभर्सन सडक भएको स्थानबाट खोलो बजार पसेको थियो । 


खिम्तीमा बाढीग्रस्त क्षेत्रमा उद्धारका लागि राति पुग्ने प्रयास गरे पनि बाटो भत्किएका कारण अहिले बिहान प्रहरी घटनास्थलमा पुगी शव खोजिरहेको प्रहरी नायब उपरीक्षक कुमोद ढुंगेलले बताउनुभयो । 

प्रजिअ सूर्यबहादुर खत्रीले प्रारम्भिक सूचनाका आधारमा जिल्ला सदरमुकामबाट तीनै सुरक्षा निकायबाट उद्धार कार्यका लागि सुरक्षाकर्मी परिचालन गरिएको बताउनुभयो । 

चार वर्षअघि पनि खिम्तीमा बाढीले आठजनाको ज्यान लिएको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!