डडेल्धुरा जोगबुढाका स्थानीय ज्यानै जोखिममा राखेर भत्ता बुझ्‍न आउँदै

Posted on: 11 Aug, 2017

साउन २७, डडेल्धुरा । प्राकृतिक विपदको दृष्टिले अति संवेदनशील रंगुन नदी । जहाँ बर्सेनि ७/८ जनाको बाढीकै कारण मृत्यु हुने गर्छ ।

हरेक वर्ष वर्षायाममा बाढी आउँदा नदी तर्ने गाउँलेहरु यसको सिकार हुने गर्दछन् । रंगुन नदीमा पुल निर्माणाधीन अवस्थामा रहेकाले यहाँ पुलबाट वारपार गर्न अझै २ वर्ष लाग्ने स्थानीयको अनुमान छ ।

डडेल्धुराको परशुराम नगरपालिकामा सर्वसाधारण ज्यान जोखिममा राखेर दैनिकी चलाइरहेका छन् । आफ्नो दैनिक काम काजको लागि जोखिम मोलेर रंगुन नदी तर्नुपर्ने जोगबुढाका स्थानीयलाई बाध्यता छ ।

परशुराम नगरपालिका ४ कि शान्ति राउटे आफ्नो ज्यानको बाजी लगाएर रंगुन नदी तरेर स्थानीय बजार जोगबुढा आइन् । उनी ‘राउटे भत्ता’ बुझ्नका लागि ज्यानको बाजी लगाएर जोगबुढा बजार आएकी हुन् ।

‘ट्युवबाट नदी पार गर्दा एक सय रुपैयाँ तिर्नु पर्छ’ शान्ति राउटेले भनिन्, ‘पैसा तिरेर पनि नदी तर्नु पर्ने बाध्यता छ ।’ त्यस्तै, सरकारी कामकाजका लागि पनि ज्यान जोखिममा राखेर नदी तर्नुपरेको स्थानीयको गुनासो छ ।

स्थानीय बैंकिङ कारोबार, व्यापार, अस्पताल, नागरिकता बनाउनसमेत नदी तरेर जोगबुढा आउने गरेको हाम्रा जोगबुढा सहकर्मी पत्रकार हर्क चन्दले बताएका छन् ।

नगरपालिकाको पपरिगाउँ, रज्यौडा, सिमलटा, कटाल, शिर्ष लगायतका स्थानीय बासीले ज्यान जोखिममा राखेर नदी तर्न पर्ने बाध्यता रहेको छ । ‘नदीमा पुल भएँ, १० मिनेटमा नदीपार भई सम्बन्धित ठाउँमा पुगिन्थ्यो’ तर पुल निर्माणधीन छ, त्यसैले जीवनको बाजी लगाएर ट्युबबाट नदी वारपार गर्नु परेको परशुराम नगरपालिका ५ कि गीता विकको भनाई छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!