माटोको घर भत्किँदा रुपन्देहीमा एक जनाको मृत्यु

Posted on: 14 Aug, 2017

साउन ३०, लुम्बिनी । विगत चार दिनदेखि लगातार परेको अविरल वर्षाका कारण रुपन्देहीको कोटइमाई गाउँपालिका– १ सिपुवामा एक कच्ची घर भत्किँदा एक जनाको मृत्यु भएको छ । 

जिल्लाको मर्चवार क्षेत्र अन्तर्गत पर्ने कोटहीमाई गाउँपालिका– १ सिपुवामा माटोको घर भत्किँदा १५ बर्षीय रोसन हरिजनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

हरिजनको बाबु फागु हरिजन र आमा शिला हरिजन घाइते भएकाले उनीहरुको भैरहवामा उपचार भइरहेको छ । लगातारको वर्षाका कारण रुपन्देही जिल्लाका केही क्षेत्र डुबानमा परेका छन् । जिल्लाको मर्चवार, लुम्बिनी, धकधई, भैरहवा, तिलोत्तमा नगरपालिकाका केही क्षेत्र डुबानमा परेका छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता बेलबहादुर पाण्डेकाअनुसार सिद्धार्थनगर नगरपालिका– ६ गल्लामण्डीस्थित दुर्गा मन्दिर नजिकका– चारवटा घर र कोटहीमाई गाउँपालिका– १ भुजौलीमा एउटा घर डुबानमा परेको छ । 

डुबानमा परेका व्यक्तिलाई उद्धार गरेर सुरक्षित स्थानमा लगिएको प्रवक्ता पाण्डेले जानकारी दिनुभयो । लगातारको वर्षाले जिल्लाका अधिकांश भाग जलमग्न भएका छन् भने सडक र घरमा पानी पसेको छ । प्रहरीले सतर्कता अपनाउँदै जोखिममा परेकालाई सुरक्षित स्थानमा सारिरहेको जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!