म्याग्दीको रघुगंगा गाउँपालिकाको कार्यालयमा तालाबन्दी

Posted on: 01 Sep, 2017

भदौ १६, म्याग्दी । म्याग्दीको पाखापानी र झिँका जनप्रतिनिधि तथा स्थानीय बासिन्दाले रघुगंगा गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । 

गाउँपालिकाको अस्थायी केन्द्र पाखापानीस्थित कार्यालयमा बिहीबार तालाबन्दी गरेका हुन् । दुई हप्ताअघिको गाउँसभाले रघुगंगाको स्थायी केन्द्र वडा नं ३ पीपलेको मौवाफाँटमा कायम गर्ने निर्णय गरेपछि वडा नं ५ झिँ र ६ पाखापानीका जनप्रतिनिधि तथा बासिन्दा आन्दोलनमा उत्रिएका हुन् । 

गाउँपालिकाअन्तर्गतका केही कार्यालय पाखापानीमा रहनुपर्ने मागसहित शुरु गरिएको आन्दोलनको पहिलो चरणको कार्यक्रमअन्तर्गत गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको वडा नं ६ पाखापानीका अध्यक्ष मनकुमार शेरपुञ्जाले बताउनुभयो । 

उहाँका अनुसार दुईवटा वडाले मालपोत, नापी, वन र स्वास्थ्यसम्बन्धी कार्यालय पाखापानीमा हुनुपर्ने माग गरेका छन् । यसअघि उनीहरुले गाउँपालिका कार्यालय जान हिँडेका कर्मचारीलाई बाटोबाटै फर्काएका थिए । भदौ ५ गतेको गाउँसभाका सदस्यको बहुमतका आधारमा मौवाफाँट केन्द्र तोकिएको थियो । रासस (फाइल फोटो)

यस बिषयमा तपाइको प्रतिक्रिया...!