तेह्रथुमका सात विद्यालय नमूना विद्यालय बन्दै

Posted on: 08 Sep, 2017

तेह्रथुम, २३ भदौ । तेह्रथुमको आठराई गाउँपालिकाका सातवटा आधारभूत विद्यालय नमूना विद्यालय बन्ने भएका छन् । नमूना विद्यालय बनाउन देउराली सोसाइटी, तेह्रथुमले अभियान सञ्चालन गरेको छ । विद्यालय स्रोत केन्द्रले छनौट गरेका विद्यालयसँग सोसाइटीले साझेदारी गरी अभियानलाई तीव्रता दिएको हो । 

विद्यालयमा बालमैत्री वातावरण तयार गरी नमूना विद्यालय बनाउन समुदायका शिक्षक, अभिभावक र सरोकारवालासँग छलफल गरी अभियान सञ्चालन गरिएको देउराली सोसाइटी तेह्रथुमका कार्यक्रम अधिकृत खगेन्द्र सापकोटाले बताउनुभयो । यसका लागि सम्बन्धित विद्यालयले २५ प्रतिशत र देउराली सोसाइटीको ७५ प्रतिशत सहयोग हुने गरी साझेदारी भएको छ । 

बालमैत्री वातावरण तयार गर्न वाइड बोर्ड, कार्पेट, फिल्टर, बालमैत्री कक्षा व्यवस्थापन, बालमैत्री खानेपानी धारा निर्माण लगायतका काम भइरहेको देउराली सोसाइटी तेह्रथुमका आठराईस्थित सामाजिक परिचालक सुभाष कन्दङवाले जानकारी दिनुभयो । 

नमूना विद्यालय निर्माणका लागि विद्यालयको अवस्थाअनुसार रु नौ हजारदेखि रु १५ हजारसम्म सहयोग देउराली सोसाइटीले गरेको छ । स्रोत केन्द्रले छनौट गरेका विद्यालय बाहेकका विद्यालयमा बालमैत्री वातावरण र गुणस्तरीय शिक्षाका लागि सहयोग गरिने भएको परिचालक कन्दङवाले बताउनुभयो । 

आठराई गाउँपालिकाको पुरानागाउँ आधारभूत विद्यालय, सङ्क्रान्तिबजार, सिंहवाहिनी आधारभूत विद्यालय खाम्लालुङ, सरस्वती आधारभूत विद्यालय ह्वाकू, रन्दल आधारभूत विद्यालय, इवा, सरस्वती आधारभूत विद्यालय, छातेढुङ्गा, जलकन्या आधारभूत विद्यालय, चुहानडाँडा र महेन्द्रोदय आधारभूत विद्यालय, थोक्लुङ नमूना विद्यालय बन्ने भएका हुन् । 

तेह्रथुमको जलजले गाविसबाट २०४८ सालमा स्थापित जलजला समाजको विस्तारित रुप देउराली सोसाइटीले आठराईमा स्थानीय अधिकार कार्यक्रमअन्तर्गत कृषि, शिक्षा, बालबालिका, महिला र सुशासनको क्षेत्रमा काम गर्दै आएको छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!